पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि निर्माण गरिएको काबेली करिडोर १३२ केभी प्रसारण लाइन संचालनमा आएको छ ।
आयोजनाको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्ड सोमबारबाट संचालनमा आएपछि झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइनको निर्माण पनि सकिएको छ । तेस्रो खण्ड सोमबार साँझ पौने ६बजेबाट संचालनमा (चार्ज)आएको हो ।
आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) दोस्रो खण्ड यस अघि नै संचालनमा आइसकेको थियो । लखनपुर, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२/३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी संचालनमा थिए ।
ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको बाटो ‘राइट अफ वे’मा स्थानीयको अवरोध,रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयास र अनुगमनबाट सम्पन्न गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘रुग्ण आयोजनामध्येको एउटा काबेली करिडोरको निर्माणबाट प्राधिकरणले धेरै पाठ सिक्यो , राइट अफ वेको समस्या सुल्झाउन व्यत्तिगत रुपमा प्रभावितको घरघरमासमेत गयौं’ उनले भने,‘स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय लगायतको निरन्तरको सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएका छौं, अब इलाम, पाँचथर र ताप्लेजुङमा जलविद्युत आयोजना निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार पनि तयार भएको छ ।’
निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा खेर जान नदिन उनीहरुको व्यापारिक उत्पादन सुरु (सिओडी) हुने मितिभन्दा पहिले नै प्रसारण लाइनको निर्माण सम्पन्न भएको उनले उल्लेख गरे ।
राइट अफ वेमा पर्ने जग्गाको शतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने, रुट परिवर्तन गर्नु लगायतका माग राखी इलामको मंगलबारे, चमैता, सिद्धिथुम्का पाँचथरको फिदिम जोरसाल क्षेत्रका स्थानीयले प्रसारण लाइन निर्माणमा अवरोध गरेका थिए । कार्यकारी निर्देशक घिसिङ गत वर्ष आफैं आयोजनास्थलमा गई स्थानीयसँग छलफल गरी समस्या समाधान गरेका थिए ।
आर्थिक वर्ष २०६३/६४मा सुरु भएको आयोजना निर्माणका लागि जागुअर ओभरसिज एण्ड एष्टर जेभीसँग २३ भदौ २०६८ मा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता १४ पुन २०६८ (२९ डिसेम्बर २०११)मा कार्यान्वयनमा आएको थियो ।
३ करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।
३७.६ मेगावाटको काबेली ‘ए’ आयोजनाका विद्युत पनि यही सबस्टेसनमा जोडिने छ । काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४.९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिइसकेका छन् । पहिलो खण्डमा करिब ८४ मेगावाट विद्युत यसअघि नै जोडिएको थियो ।