नेपाल र अष्ट्रेलियाबीच द्वपक्षीय हवाई सम्झौता हुने भएको छ। नेपाल सरकारले अष्ट्रेलियासँग प्रारम्भिक हवाई सम्झौता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।
नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता नहुँदा हालसम्म यी दुईदेशबीच सिधा हवाई सम्पर्क छैन।
सम्झौता नभएको अवस्थामा कोड सेयर पनि गर्न नपाउने भएकाले अरु देशका एयरलाइन्सको माध्यमबाट आवतजावत हुने गरेको छ।
दुई देशबीचको सम्झौतामा प्रारम्भिक हस्ताक्षर क्यानडामा हुनसक्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ) को ४० औं महासभामा भाग लिन पर्यटन मन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधमण्डल क्यानडा पुगेको छ। क्यानडाको मन्ट्रियलमा जारी महासभामा अष्ट्रेलियन प्रतिनिधिमण्डलमा पनि पुगेको छ।
सोही अवसरमा दुई देशका अधिकारीबीच वार्ता हुने छ। सोही वार्तापछि सम्झौतामा हस्ताक्ष गर्ने तयारीसहित नेपाली टोली पुगेको हो।
नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ।