चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा साढे २ घण्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ।
विमानस्थल कार्यालयले शनिबारका लागि एक सूचना जारी गर्दै दिउसो २:५५ देखि ५:२५ सम्मका लागि सबै व्यावासायिक उडान स्थगन गर्न आदेश दिएको छ।
विमानस्थल कार्यालयले जारी गरेको सूचना अनुसार उक्त अवधिमा काठमाडौं विमानस्थलमा कुनै पनि उडा हुने छैनन्। सोहीअनुसार एयरलाइन्सहरुले उडानको तालिका हेरफेर गर्नुपर्ने छ।
त्यस्तै चिनियाँ राष्ट्रपति फर्किंदा पनि बिहान ११:२० देखि १:५० सम्म विमानस्थल बन्द हुने छ।
चिनियाँ राष्ट्रपति नेपाल रहँदासम्म उनीसँगै आउने २ जम्बो जेट जहाजका कारण अन्तर्राष्ट्रिय उडान बढी प्रभावित हुने छन्। ९ पार्किङ वे भएको विमानस्थलमा उक्त अवधिमा ३ वटामात्र उपलब्ध हुने छन्।
४ देखि ९ नम्बरसम्मका वे मा चिनियाँ राष्ट्रपतिका २ जहाज पार्किङ गर्नुपर्ने भएका कारण ३ वटामात्र उपलब्ध हुने र यही कारण धेरै उडान प्रभावित हुने एयरलाइन्स सञ्चालकहरुले बताएका छन्।
उडान तथा अवतरणमा न्यून असर परोस भनेर २४ घण्टा खुला राखिने विमानस्थल कार्यालयले सूचनामा उल्लेख गरेको छ।