अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको अर्थतन्त्र सुधार भएको बताएका छन्। मंगलबार कृषि विकास बैंकको ५३औं वार्षिकोत्सवमा उनले नेपालको अर्थतन्त्र उत्कृष्ट भएको बताएका हुन्।
‘अर्थतन्त्र सरल बाटोमा सधैं हुँदैन। कहिले उकालो लाग्छ कहिले ओरालो लाग्छ। हाम्रो भुगोल जस्तै हो,अर्थतन्त्र,’ उनले भने, ‘त्यसैले अलिकती उकालो लाग्दा स्वाँस्वाँ र अलिकती ओरालो लाग्दा लडिन्छ कि भन्नु आवश्यक छैन।’अर्थतन्त्र सुदृढ, सवल र स्थायीमार्गमा अघि बढिरहेको छ।’
उनले केही दिनअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रकाशन गरेकाे आर्टिकल फोरकाे सकेत गर्दै तथ्याङकमा रहेर अर्थतन्त्रको विश्लेषण गर्न पनि आग्रह गरे।
‘कहिलेकाँही सरकारले गरेको कुरा विश्वास गर्न गाह्रो भयो भने अन्तर्राष्ट्रिय संस्थाहरु जो नेपालको अर्थतन्त्रलाई मोनिटर गर्छन्। नजिकबाट नियाल्छन् र स्वतन्त्र रुपले आफ्ना विवरण प्रतिवेदन प्रकाशन गर्छन्। त्यो पनि पढ्नुहोस्,’ उनले अनुरोध गरे।
विश्व बैंक, एडिबीको रिपोर्टले पनि नेपालको अर्थतन्त्र उल्लेखनीय रहेको देखाउने उनको दाबी छ।
‘कुनैबेला आर्थिकवृद्धि २, ३ र ४ भयो भने निकै राम्रो मानिन्थ्यो । २० वर्षको आर्थिक वृद्धि भनेकै ४ प्रतिशत हो,’ उनले भने, ‘अब ४ प्रतिशतको होइन बहस नै ६ देखि ८ प्रतिशतको हुनाले हामी अर्थतन्त्रको माथिल्लो चरणमा उक्लिसक्यौ।’
उनले मूल्यवृद्धि बढेकोतर्फ संकेत गर्दै भने,‘कुनैबेला मूल्यवृद्धि २२ प्रतिशत हुँदा आकासियो भनिदैनथ्यो अहिले ६ प्रतिशतको हुदाँ पनि आकासियो भन्ने शब्द राखिन्छ। नेपालको २० वर्षको औषत मूल्यवृद्धि ८ प्रतिशत भन्दामाथि भएकाले अबको बहस राम्रो गर्नुपर्छ भन्नेमा हुनुपर्छ। विगत भन्दा राम्रो भएको छ। अझै राम्रो गर्ने ठाउँ छ।’
अर्थतन्त्र राम्रो हुँदै गएकाले व्यावसायीलाई ढुक्क भएर लगानी गर्न उनको आग्रह छ।
पछिल्लो समय व्यापार घाटा बढेको र रेमिट्यान्स घटेर अर्थतन्त्र मन्दीमा गएको भन्ने विश्लेषण तार्किक नभएको अर्थमन्त्री खतिवडाले बताए।