पछिल्लो समय नेपाली उद्योगबाट उत्पादित वस्तुहरुको क्षमता उपयोग घटेको छ। नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०७५/७६ को आर्थिक प्रतिवेदन अनुसार उत्पादित वस्तुहरुको क्षमता उपयोग घटेको देखिएको हो।
राष्ट्र बैङ्कले ५७ जिल्लामा अध्ययन गरी सार्वजनिक गरेको प्रतिवेदन अनुसार समीक्षा वर्षमा नमुना छनौटमा परेका प्रमुख उद्योगको क्षमता उपयोग ५७.१ प्रतिशत रहेको छ।
२०७४/०७५ मा यस्ता उद्योगको औसत क्षमता उपयोग ५९.७ प्रतिशत रहेको थियो।
उद्योगबाट उत्पादित करिब ४० प्रकारका वस्तुहरुमध्ये २०७४/०७५ को तुलनामा २०७५/०७६ मा सबैभन्दा बढी पश्मिनाको क्षमता उपयोग घटेको छ।
२०७४/०७५ मा ९९.१ प्रतिशत क्षमता उपयोग भएको पश्मिना २०७५/०७६ मा ५७.८ प्रतिशत उपयोग भएको नेपाल राष्ट्र बैङ्कको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
अन्तर्राष्ट्रिय बजारमा पश्मिनाको माग घटेकाले उद्योगको क्षमता उपयोग घटेको नेपाल पश्मिना इन्डष्ट्रिज एसोसिएसनका सिइओ हरिचन्द्र अर्यालले बताए।
त्यस्तै सिमेन्टको पनि क्षमता उपयोग घटेको छ। सिमेन्ट उत्पादनमा थप सिमेन्ट उद्योग सञ्चालनमा आएका कारण सिमेन्ट उद्योगको क्षमता उपयोग घट्न गई समग्र उद्योगको क्षमता उपयोग कम देखिएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदन अनुसार वनस्पति घ्यु, खाने तेल, विस्कुट, चिनी, पशुदाना, प्रशोधित चिया, हल्का पेय पदार्थ, चुरोट, टायर, साबुन, बिजुलीको तारलगायत वस्तुको उद्योगको क्षमता उपयोग घटेको छ।
वियर उद्योगले सबैभन्दा बढी ९९.७ प्रतिशत क्षमता उपयोग गरेको देखिएको छ भने टायर उद्योगको क्षमता उपयोग सबैभन्दा कम अर्थात् १५.८ प्रतिशत मात्र देखिएको छ।
अध्ययनले समेटेका उद्योगमध्ये तोरीको तेल, भटमासको तेल, प्रशोधित दुध, गहुँको पिठो, चिनी, चकलेट, मदिरा, वियर, धागो, सिन्थेटिक कपडा, कागज, जुटका सामान, कागज, रोजिन, सिमेन्ट, फलामको रडलगायतको उत्पादन वृद्धि भएको छ।
चामल, पशुदाना, चाउचाउ, प्रशोधित चिया, हल्का पेय पदार्थ, चुरोट, गार्मेण्ट, प्रशोधित छाला र चिरेको काठ लगायतको उत्पादन घटेको छ।
‘विद्युत आपूर्तिमा सुधार आएको तथा निर्माणजन्य गतिविधिमा विस्तार भएसँंगै खानीजन्य उत्पादनमा समेत वृद्धि भएकोले औद्योगिक क्षेत्रको उत्पादन बढेको छ’, प्रतिवेदनमा उल्लेख छ।
समीक्षा वर्षमा बनस्पती घिउ तथा तेल १३२.४, दुग्ध पदार्थ २८.०, अन्य खाद्य पदार्थ ३.७, पेय पदार्थ ९.०, लत्ता कपडा १६.२, अन्य कपडा १०.५, कागज तथा कागजका उत्पादन ३१.४, आधारभूत रसायन ६.५, अन्य रासायनिक पदार्थ २२.१, फेब्रिकेटेड धातुका सामान ५.८, धातुका उपकरण ३२.८, काठ तथा काठको सामान ०.१ र जुत्ताको उत्पादन ०.९ प्रतिशतले बढेको छ।
त्यस्तै, अन्न तथा पशुदाना ६.९, सुर्तीजन्य वस्तु २४.१, तयारी कपडा २०.६, प्लाष्टिकजन्य उत्पादन ०.८ र बिजुलीका उपकरणको उत्पादन ०.३ प्रतिशतले घटेको छ।
काठमाडौं क्षेत्रमा विशेषगरी प्रशोधित दुध, पश्मिना, चाउचाउ, औषधिजन्य वस्तु र जुत्तालगायतका उत्पादन हुने गरेको छ।
विराटनगर क्षेत्रमा वनस्पति घिउ तथा तेल, अन्य खाद्य पदार्थ, जुटका सामान, धातुका उपकरण, सिमेन्टलगायतको उत्पादन प्रमुख रहेको छ भने जनकपुर क्षेत्रमा मदिरा, कागज, सिमेन्ट उत्पादन हुने गरेको छ।
त्यसैगरी, वीरगञ्ज क्षेत्रमा वनस्पति घिउ तथा तेल, प्रशोधित दुध, पशुदाना, हल्का पेय पदार्थ, चुरोट, लत्ताकपडा, सिमेन्ट, प्रशोधित छाला, औषधि, फलामको छड तथा पत्ति; पोखरा क्षेत्रमा विस्कुट, चाउचाउ; सिद्धार्थनगर क्षेत्रमा गहुँको पिठो, वियर, औषधि, सिमेन्ट; नेपालगञ्ज क्षेत्रमा तोरीको तेल, गहुँको पिठो, सिमेन्ट तथा धनगढी क्षेत्रमा गहुँको पिठो, चिरेको काठ, रोजिनलगायतका वस्तुको उत्पादन हुने गरेको छ।
अध्ययन क्षेत्र अन्तर्गतका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको ३७.३ प्रतिशत रहेको छ।