पूर्व अर्थमन्त्रीहरुको क्लव स्थापना भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको पहलमा पूर्व अर्थमन्त्री विचार मञ्चको गठन भएको हो।
शुक्रवार सम्पन्न पूर्व अर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र ज्ञानेन्द्र बहादुर कार्कीको भेलाले 'पूर्व अर्थमन्त्री विचार मञ्च' गठन गर्ने निर्णय गरेको हो।
नेपाल उद्योग वाणिज्य महासंघको पहलमा गठन भएको उक्म मञ्चको पहिलो भेलामा डा बाबुराम भट्टराई र विष्णु पौडेल भने सहभागी नभएको बताइएको छ।
आर्थिक विकास र अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका सरोकारवालाहरुसंग नियमित बहस चलाई आर्थिक विकासमा सार्थक योगदान पुरयाउने उद्देश्यले आज उक्त मञ्च गठन भएको नेपाल उद्योग वाणिज्य महासंघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
आजको भेलामा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान र चन्द्र प्रसाद ढकाल पनि सहभागी थिए।
आजै गठन भएको मञ्ले अर्थतन्त्र तथा विकासका समग्र पक्षसंग जोडिएका विषयमा सरोकारवालाहरुसंग नियमित छलफल चलाई त्यसको समाधानका लागि सार्थक पहल गर्ने,तत्काल कोभिड १९ बाट उत्पन्न हुन सक्ने स्वास्थ्य एवं आर्थिक पक्षका जोखिमहरुलाई न्यून गर्न सरकारले स्वास्थ्यका क्षेत्रमा जनचेतनामूलक, नियन्त्रणात्मक एवं उपचारात्मक कार्यक्रमलाई जनता समेतलाई साथमा लिई अझ प्रभावकारी ढंगबाट संचालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।
त्यस्तै मञ्चले कोभिड १९ बाट राष्ट्रिय अर्थतन्त्रका विविध पक्षमा पर्न सक्ने प्रतिकुल प्रभावलाई न्यूनिकरण गर्न र बढी प्रभावित अर्थतन्त्रका क्षेत्रहरुका लागि राहत प्याकेज तत्काल ल्याउन सरकारलाई अनुरोध गर्ने,कोभिड १९ बाट उत्पन्न विपत्तिको अवस्थामा आदरणीय जनसमुदाय तथा व्यवसायिक क्षेत्रका सवै सरोकारवालाहरुलाई अधिकतम सचेतना अपनाउन आग्रह गर्ने निर्णय गरेको छ।