उद्योगी दीपक मल्होत्राले मास्क उत्पादन सुरू गरेका छन्। सोमबारदेखि मल्होत्राले थप मास्क उत्पादन गरेका हुन्। उनको मास्क स्वास्थ्य मन्त्रालयले किन्ने भएको छ।
मास्क उत्पादनका लागि आइतबार भारतबाट मेसिन तथा आवश्यक कच्चा पदार्थ आइपुगेको थियो।
‘हिजो बेलुका अबेरसम्मै मेसिन जडान गर्नै लाग्यो, बेलुका र अहिले बिहानसम्ममा ५० हजार मास्क उत्पादन भएको छ,’ मल्होत्राले भने, ‘उक्त मास्क प्याकिङ गरेर स्वास्थ्य मन्त्रालयलाई दिन तयार पारिएको छ।’
उक्त मास्क स्वास्थ्य मन्त्रालयमार्फत् हस्पिटलहरूमा जाने छ। स्वास्थ्य मन्त्रालयलाई दिएर बढी भएको मास्क भने आफूहरू आफैं आर्मी पुलिस तथा अत्यावश्यक ठाउँमा नि:शुल्क बाँड्ने योजना बनाएको उनले बताए।
‘अहिले त स्वास्थ्य मन्त्रालयलाई नै दिन्छौं, पछि भने आफैं अत्यावश्यक ठाउँमा नि:शुल्क बाँड्छौं,’ मल्होत्राले भने।
उनका अनुसार स्वास्थ्य मन्त्रालयलाई लागत मूल्यमा दिइएको छ।
मल्होत्राले १ सेट मेसिन ल्याएर मास्क उत्पादन सुरू गरेका छन्। उक्त मेसिनको उत्पादन क्षमता हप्तामा ५ लाख पिस रहेको छ। जसबाट दैनिक ७० हजार मास्क उत्पादन हुन्छ।
अहिले फ्याक्ट्री नै सञ्चालन गरेर मास्क उत्पादन गर्न असम्भव भएकाले उनले गार्मेन्ट उत्पादन गर्ने गोथेरा इन्डष्ट्रिजबाट मास्क उत्पादन गरेका छन्।
‘फ्याक्ट्री सञ्चालन गर्न जग्गा चाहियो, जनशक्ति चाहियो। त्यो अहिले तत्काल सम्भव नभएकाले त्यहाँ मेसिन राखेर उत्पादन गरिएको छ,’ मल्होत्राले भने।
यसबाहेक पनि चेम्बर अफ कमर्शले करिब १० दिन अघिदेखि निम्बसलाई दैनिक १५ हजार पिस मास्क उत्पादन गर्न लगाएको छ। उक्त मास्क भने औषधि व्यवसायीलाई लागत मूल्यमै बेच्ने गरेको उनले जानकारी दिए।