कुलदिप पोखरलले खाद्यान्नको ट्रक चलाउँछन्। हिजो आज उनलाई एउटै समस्याले सताउँछ– खाना।
‘लकडाउन भएपछि एकदिन विरगंजबाट कटारी गए। खाना खाने ठाउँ कतै खुलेन बल्ल एउटा चिनेका ठाउँमा खोल्न लगाएर एक छाक खाए। नत्र चाउचाउकै भर हो’ उनले भने ‘कोरोनाले कहिले मरिएला थाहा छैन, भोकले चाहीँ मरिने भैयो।’
सामान पुर्याएर फर्केर आउँदा खाली गाडी देखेर प्रहरीले दुख दिने गरेको उनले सुनाए।
हेटौडाका मनिश कार्कीले दानाको ट्र«क चलाउँछन्। उनी दाना बोकेर हेटौडाबाट कहिले काठमाडौं त कहिले पोखरा पुग्छन्।
सरकारले कोरोना संक्रमण नफैलियोस भनेर गरेको लक डाउनले उनलाई भोकै काम गर्न बाध्य बनाएको छ।
‘काम नगरी बसौ भने किसानको कुखुरा मर्ने डर, गरौं आफू भोकै’ उनले भने ‘ आजकल घरबाटै चाउचाउ, पानी बिस्कुट लैजान थालेको छ।’
कुनै कुनै पाटीले भने दया गरेर खाना खुवाउने गरेको मनिश बताउँछन्।
यो समस्या सवारी धनीलाई पनि उस्तै छ। लकडाउनले गर्दा दुर दराज पुगेका आफ्ना केही गाडी रोकिएको ट्रक धनी उदेश भण्डारीले गुनासो पोखे।
‘चाउचाउ बोकेर गएका मेरो गाडी रोकिएका छन्। खाने ठाउँ भए त समस्या थिएन तर लोड भएका गाडीबीच बाटोबाट कसरी फर्काउनु, सरकारले कुन खाद्यान्न बोक्न पाउने र कुन नपाउने प्रस्ट पार्नु पर्छ, ’ उनले भने।
यस्तो समस्या सबै खाद्यान्न ढुवानी गर्ने गाडीका स्टाफलाई परेको नेपाल यातायात व्यवसायी राष्ट्रिय माहासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए।
‘यस्तो समयमा हामीले सेवा दिनुपर्छ। तर चालकहरुलाई सरकारले खान पिउनको व्यवस्था गर्नुपर्छ। भोको पेट कति दिन काम गर्न सक्छन्’ उनले सेतोपाटीसगँ भने ‘जाहाँ पायो त्यही खान पनि भएन। उनीहरुको स्वास्थ्यको जिम्मा कसले लिन्छ। सरकारले चालकलाई स्वस्थ खाना खुवाउने व्यवस्था गर्नुपर्छ।’
सरकारले यस्ता कुरामा ध्यान नदिए केही समयमा सबै चालकले गाडी चलाउन छोड्नसक्ने उनी बताउँछन्।