सरकारले उद्योगहरूले पैठारी गर्ने कच्चा पदार्थको भन्सार दर घटाएको छ।
तयारी मालवस्तुको आयातमा लाग्दै आएकोभन्दा कच्चा पदार्थको आयातमा भन्सार दर एक तह कम गर्ने अर्थमन्त्री युवराज खतिवडाले बताए।
आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् खतिवडाले एक दर्जन बढी वस्तुमा लाग्दै आएको अन्त:शुल्क पनि हटाइएको बताए।
यसले स्वदेशी उत्पादनमूलक उद्योगका लागि प्रोत्साहन मिल्ने उनले बताए।
त्यस्तै, स्वदेशी फर्निचरको प्रवर्द्धनका लागि आयातित सबै किसिमका फर्निचरको अन्त:शुल्कमा वृद्धि गरिएको उनले बताए।
कृषि बाली तथा पशुपंक्षीका उपचारका लागि आवश्यक औषधि तथा कृषि यान्त्रीकरण पैठारीमा लाग्ने भन्सार महसुल घटाइएको उनले घोषणा गरे।
धान, मकै, गहुँ र तरकारीको बीउ पैठारीमा लाग्दै आएको भन्सार महसुल घटाइएको उनले बताए।
मास्क तथा स्यानिटाइजर उत्पादन गर्ने उद्योगका लागि आवश्यक कच्चा पदार्थको पैठारीमा लाग्ने मूल्य अभिवृद्धि करमा छुट दिइने उनले घोषणा गरे।
चुरोट, गुट्खा, पान मसला लगायतमा लाग्दै आएको स्वास्थ्य जोखिम करमा सामान्य वृद्धि गरिएको उनले बताए।
हवाई इन्धन र एलपी ग्यासबाहेक पेट्रोलियम पदार्थको भन्सार शुल्कमा सामान्य वृद्धि गरिएको छ।