सवारी चालक अनुमती पत्र (लाइसेन्स) छपाई सकिएको छ।
यातायात व्यवस्था विभागले लकडाउनको समयमा पनि सिफ्ट बनाएर छपाई जारी राखेकोले ब्याक लक (छाप्न बाँकी) लाइसेन्स सकिएको हो।
यो अवधिमा ५ लाख भन्दा धेरै लाइसेन्स छपाइ गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता तिर्थराज खनालले जानकारी दिए।
‘हामीले लकडाउनकै अवधिमा चैत २३ गतेदेखि स्वास्थ्य सावधानी अपनाएर छपाईलाई निरन्तरता दियौं। अहिले मास प्रिन्टरमा घान नपुगेर एक हजार/१५ सय बाकीँ होलान्। त्यो पनि नयाँ डाटा आएपछि छाप्छौं,’ उनले सेतोपाटीसँग भने।
खनालका अनुसार छापिएका कार्ड सम्बन्धित यातायात कार्यालयमा पठाइसकिएको छ।
यो सगैँ लाइसेन्सको प्रकृया पुरा गरेर पनि वर्ष दिनसम्म चिटकै भरमा सवारी चलाउने बाध्यता हट्ने भएको छ।
लाइसेन्सको प्रकृया पूरा गर्नेको संद्यया धेरै तर कार्ड छाप्न सक्ने क्षमता कम हुँदा सेवाग्राहीले चिटकै भरमा सवारी चलाउनु परेको थियो।
२०७२ साल मंसिरमा तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई स्मार्ट लाइसेन्स दिएर स्मार्ट लाइसेन्सको सुरुवात गरेका थिए।