नागरिक लगानी कोषले उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईन मार्फत एनसीएचएलका प्रणालीबाट गर्ने भएको छ।
यसको लागि कुमारी बैंकमा रहेको आफ्नो खाताबाट लाभग्राहीको बैंक खातामा सिधैँ भुक्तानी गर्न नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को नेशनल पेमेन्ट्स इन्टरफेस (एनपिआई) मा 'इन्डाइरेक्ट मेम्बर'को रुपमा आबद्ध भएको छ।
यस आबद्धतासँगै कोषले एनसीएचएलको एनसिएचएल– आइपिएस तथा कनेक्टआइपिएस इ–पेमेन्ट प्रणालीहरु प्रयोग गरी सदस्य बैंक वित्तिय संस्थाहरुमा रहेका लाभग्राहीका खातामा सोझै भुक्तानी गर्न सक्नेछ।
भुक्तानी प्राप्त गर्नका लागि लाभग्राहीले एकपटक आफ्नो खाताको विवरण कोषमा अद्यावधिक गराउनुपर्छ।
कोषले हालै आफ्नो नयाँ कोर सिस्टम लागू गरेको छ साथै एनपिआईमा आबद्ध भई भुक्तानी कारोबारहरु स्वचालित गर्ने आफ्नो योजनालाई थप अगाडि बढाएको छ। कोषले हालको लागी उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईन मार्फत सुरुवात गरेको छ।
कोषले विभिन्न योजनाहरु अन्तर्गत व्यक्तिगत तथा संस्थाहरु मार्फत संकलन गर्ने भुक्तानी रकम पनि सोझै आफ्नो तोकिएको बैंक खातामा प्राप्त गर्ने बताइएको छ।