त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त आदिम कलेजले ‘आदिम इन्नोभेसन स्टार्टअप फण्ड’ स्थापना गरेको छ।
कलेजले ब्याचलर्स अफ कम्प्युटर एप्लिकेसन (बीसीए) पढ्ने विद्यार्थीलाई लक्षित गर्दै उक्त फण्ड स्थापना गरेको हो।
इन्नोभेसन फण्डबाट विद्यार्थीलाई स्वदेशमै सम्भावना र अवसर सिर्जना गर्दै उद्यमशीलतातर्फ उन्मुख गराउने कलेजका प्रिन्सिपल शंकरप्रसाद शर्माले बताए।
उनले यो फण्ड पूर्ण वा आंशिक रूपमा विद्यार्थीको उत्कृष्ट इन्नोभेटिभ प्रोडक्ट वा प्रोजेक्टलाई प्रदान गर्ने र व्यवसायका लागि आवश्यक डिभाइस, सफ्टवेयर र कार्यालय सेटअपमा फण्डबापतको सहयोग विद्यार्थीले खर्च गर्न सक्ने जानकारी दिए ।
इन्नोभेटिभ आइडिया तथा कन्सेप्टलाई वास्तविकतामा उतार्न फण्डले सहयोग गर्ने उनीहरूको विश्वास छ।
फण्डलाई प्रोडक्टको ब्राण्डिङ र मार्केटिङमा समेत खर्च गर्न सकिनेछ। फण्डले उद्यमशीलताको यात्रा सुरू गर्न विद्यार्थीलाई प्रेरित गर्ने कलेजको विश्वास छ।
कलेजबाटै विद्यार्थीले व्यावसायिक फण्ड पाउँदा इन्नोभेसन र उद्यमशीलताको संस्कृति विकासमा टेवा पुग्ने राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले बताए।
प्रा.डा सुवर्ण शाक्यले कलेजको नवीन प्रयासले नेपालको शैक्षिक क्षेत्रमा उद्यमशीलतालाई प्रवर्द्धन गर्न नयाँ आयाम सिर्जना गर्ने बताए ।
आदिम कलेजले ब्याचलरमा बीसीए, बीबीएस, बीएसडब्लूका साथै प्लस टु लेभलमा साइन्स र म्यानेजमेन्ट विषय पढाइरहेको छ।