वैशाख मसान्तसम्म माथिल्लो तामाकोसीबाट विद्युत उत्पादन थाल्ने लक्ष्य लिइएपनि परीक्षणका क्रममा केही कमजोरी देखिएपछि उत्पादन सुरु हुने अवधि लम्बिने भएको छ।
४५६ मेगावाट क्षमताको यस आयोजनाबाट वैशाख मसान्तभित्रै कम्तीमा एक युनिटको ७६ मेगावाट बिजुली उत्पादन थाल्ने लक्ष्य लिइएको थियो।
सो अनुरुपवैशाख १६ गते सुरुङमा पानी छाडिएको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले स्वीच थिचेर सुरुङमा पानी खसाल्ने कार्यको उद्घाटन गरेका थिए।
पानी खसालिसकेपछिको परीक्षणका क्रममा केही कमजोरी देखिएपछि बिजुली उत्पादन सुरु हुने मिति लम्बिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए।
अझै कम्तीमा २ हप्ता लाग्ने उनले बताए। ‘पानी खसालिसकेपछि पाइप, बोल्ट, भल्बहरुमा पानी चुहावट भए/नभएकोबारे परीक्षण भइरहेको छ’ न्यौपानेले सेतोपाटीसँग भने।
परीक्षणका क्रममा केही समस्या देखिएकाले उत्पादन हुने मिति लम्बिन गएको उनले स्पष्ट पारे। पहिलो युनिटबाट बिजुली निकालेको १५–२० दिनमै अर्को युनिटबाट बिजुली उत्पादन सुरू हुने आयोजनाले जनाएको छ। ६ वटै युनिट जडान गरेर तीन महिनाभित्र आयोजनालाई पूर्ण क्षमता चलाउने योजना रहेको न्यौपानेले बताए।
लागत बढेको बढ्यै
व्यवसायिक उत्पादन सुरु भइनसकेकाले आयोजनको लागत भने बढेको बढ्यै छ। कुल लागत ३५ अर्ब लाग्ने अनुमानका साथ आयोजना बनाउन थालिएको थियो।
तर कम्पनीले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार लामो अवधिको ऋण मात्रै ४० अर्ब ५८ करोड पुगेको छ। त्यसमा लागेको ब्याज २९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष, बीमा संस्थान लगायतबाट आयोजनाले यस्तो ऋण लिएको छ।
विभिन्न बैंकबाट लिएको अल्पकालीन र अन्य ऋणसहित करिब ५ अर्ब दायित्व थपिएको छ। त्यस्तै आयोजनाले सेयर जारी गरेर १० अर्ब ५९ करोड रुपैयाँ जुटाएको थियो।
यसरी सर्सती हेर्दा ८५ अर्ब बढी लागत लागिसकेको छ। कम्पनीको लागत प्रतिमेगावाट १८ करोड ६४ लाख लागिसकेको छ।
पछिल्लो समय बन्ने गरेका आयोजनाकै हाराहारीमा माथिल्लो तामाकोसीको लागत पुगेको छ। भूकम्प, नाकाबन्दी, कोरोनाजस्ता असहजता झेल्नुपर्दा आयोजनाको लागत बढ्न गएको आयोजनाका प्रवक्ता गणेश न्यौपाने बताउँछन्।
‘यस्ता संकटका बेला आयोजनालाई आवश्यक पर्ने उपकरण, जनशक्ति तथा निर्माण सामाग्री उपलब्ध हुन सकेन, यसले गर्दा अवधि लम्बिएर ब्याज बढ्न गयो’ न्यौपानेले भने ‘अर्कोतर्फ डलरको मूल्यले पनि ठूलो असर पार्यो।’
आयोजनामा आवश्यक पर्ने सबै उपकरण डलरमा भुक्तानी गरी विदेशबाट ल्याइन्छ। ‘डलर महँगिदा मात्रै ८ अर्ब बढी लागत लाग्ने भयो,’ न्यौपानेले सेतोपाटीसँग भने।