कविता
ओच्छ्याएर श्यामश्वेत बोर्ड
आफ्नै देशको
खेलिरहन्छन् राजनीतिक खेल
सतरञ्जका खेलाडीहरू
अनि चलिरहन्छन् कपटपूर्ण चाल्
धुर्त्याइको,छलको
अनि जाल र झेलको
नपल्टिउन्जेल पासा
आफ्नै पक्षमा र
नफर्किउन्जेल दाउ
आफैंतिर
अचम्मको छ यो राजनीतिको सतरञ्ज,
कुल्चेर सबै नियम विनियमका दस्ताबेजहरू
चलिरहन्छ हरदम तिकडमबाजी
धोका षड्यन्त्र र बेइमानीकोस
सक्नेहरू
वा भनौं खेलकौशलमा पारंगत खेलाडीहरू
चल्छन् आफ्नै चाल्
लगाएर सबै अस्त्र
साम, दाम, दण्ड, भेदका
अनि हत्याउँछन् खेल सत्ता र शक्तिको
तर आफैं चाल् चल्न नजान्नेहरू
अक्सर टिकिरहन्छन् खेलमा झन बढी
चलेर प्रत्येक् पटक
निर्देशित चाल् अरू कसैको
र जितिरहन्छन् प्रायोजित खेल
निगाहको अनि आशिर्वादको
जब सकिन्छ खेल
जीतको एउटा गगनभेदी हुंकार
अनि हारको नमीठो सुस्केरासँगै
असरल्लै छोडिन्छन् गोटीहरू
छरिएर यत्रतत्र
हरेक खेलसँगै थोत्रिँदै गएको
रंगहीन उही जर्जर बोर्डको छातीभरि
अनि नियालेर हेर्छु म
र छरपस्ट छरिएका गोटीमा देख्छु
लाचार जनताका मलीन अनुहार
अनि रङ उडेको बोर्डमा
एउटी थकित आमाको प्रतिबिम्ब।