स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको उपचार जारी छ।
बुधबार एक सरकारी बैठक सकेर बाहिर निस्किँदै गर्दा मध्य सहर ह्यान्ड्लोभामा उनीमाथि गोली प्रहार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री फिकोमाथि पाँच गोली लागेको थियो। गोली प्रहार भएपछि उनलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको थियो।
अहिले प्रधानमन्त्री फिको खतरामुक्त रहेको उनका उपप्रधानमन्त्री एवम् वातावरणमन्त्री टोमस टराबाले बताएका छन्।
‘उहाँ अहिले जीवनको खतरामा हुनुहुन्न। बाँच्ने सम्भावना छ,’ उपप्रधानमन्त्री टराबाले बिबिसीसँग भनेका छन्।
स्लोभाकियाका रक्षामन्त्री रोबर्ट कलिनकका अनुसार डाक्टरहरूले तीन घन्टा लगाएर प्रधानमन्त्री फिकोको शल्यक्रिया गरेका थिए।
उनले प्रधानमन्त्री फिकोको पेटमा गोली लागेको बताएका छन्।
आन्तरिक मन्त्री मातुस सुताज एस्टोकले अपरेशन अगाडि प्रधानमन्त्रीको अवस्था गम्भीर रहेको भएपनि अहिले स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन्।
उनले प्रधानमन्त्रीको हत्या राजनीतिक रूपमा प्रेरित रहेको पनि बताएका छन्।
प्रधानमन्त्री फिकोमाथि गोली प्रहार गरेको आरोपमा बुधबार नै प्रहरीले एक पुरूषलाई पक्राउ गरिसकेको छ।
उनी को हुन् भन्ने विषय त्यहाँको प्रहरीले केही खुलाएको छैन। तर स्थानीय सञ्चार माध्यमहरूले उनी ७१ वर्षका लेखक तथा राजनीतिक अभियन्ता रहेको बताएका छन्।
स्लोभाक र अन्य युरोपेली अधिकारीहरूले यो घटनाबाट स्तब्ध भएको भन्दै निन्दा गरेका छन्।
स्लोभाकियाका राष्ट्रपति जुजाना क्यापुटोभाले प्रधानमन्त्रीमाथि हमला हुनु भयानक र नीच काम भएको बताएकी छन्। उनले यो घटनालाई लोकतन्त्रमाथिको आक्रमण पनि भनेकी छन्।
सन् २०१८ मा प्रधानमन्त्रीको पद छाडेका फिको गत सेप्टेम्बरमा भएको आम चुनावपछि सत्तामा फर्किएका थिए।