साँझ ९ बजेतिरको कुरा थियो।
सधैं झैं खाना खाएर बेडमा पल्टिएर मोबाइल चलाउन थालेकी थिएँ।
मोबाइल हातमा पर्दा सबैभन्दा पहिले फेसबुक नै चलाउने गर्थें। फेसबुकमा न्युज फिड हेर्दै गर्दा मेरा आँखा सेतोपाटी भन्ने न्युजको हेडलाइनतर्फ मोडिए।
त्यहाँ लेखिएको थियो, ‘बाइकमा लिफ्ट माग्ने नर्स।’
यस्ता लेखहरू पढ्न एकदमै रुची राख्ने म त्यो लेख पनि पढ्न छुटाइनँ। पढ्न थालेपछि थाहा भयो यो त स्टोरी रहेछ भनेर। पढ्दैगर्दा यसपछि के हुन्छ होला भन्ने उत्सुकता निकै बढ्न थाल्यो र त्यो स्टोरी सकिएको पत्तै पाएन।
सायद, यति मन छुने स्टोरी योभन्दा पहिले कहिल्यै पढेकी थिइनँ होला। त्यो स्टोरीले निकै मन छोयो। त्यो स्टोरी आफ्ना साथीहरूलाई पनि पढ्न भनेर पठाएँ। म लगायत सबैको प्रश्न एउटै थियो- यो स्टोरी रियल होला कि काल्पनिक।
हाम्रो केही समय यस स्टोरीकै बारेमा बहस गर्दैमा बित्यो। मनमा झन्-झन् उत्सुकता बढ्न थाल्यो र निद्रा पर्ने कुनै लक्षण देखिएन। त्यतिबेला मोबाइल त्यसै बन्द गरेर सुत्ने प्रयास गरें। दोस्रो बिहान उठ्नेवित्तिकै त्यही स्टोरी दिमागमा आयो र मोबाइल समातेर फेसबुकमा चक्र खडायत सर्च गरें। सुरूमै भएको मान्छेको प्रोफाइल हेरें र स्टोरीमै राखिएको फोटो र त्यो प्रोफाइल फोटो उस्तै-उस्तै लाग्यो। टाइमलाइनमा अरु पोस्ट हेर्दै गएँ र त्यो स्टोरी त्यहाँ पनि सेयर गरेको पाएँ र मैले खोजेको मान्छे उहाँ नै हो भन्ने कुरामा ढुक्क भएँ।
त्यति सजिलै एउटा अपरिचित केटा मान्छेलाई म्यासेज गर्न पनि आँट आइरहेको थिएन तर मलाई जसरी भए पनि त्यो स्टोरी रियल हो वा काल्पनिक हो भन्ने पत्ता लगाउनु थियो। साहस गरेरै म्यासेज गर्ने प्रयत्न गरें र नमस्ते सर लेखेर म्यासेज पठाएँ। अनलाइनमै हुनुहुँदो रहेछ।
उताबाट मेरो म्यासेज को रिप्लाई नमस्ते मिस भनेर आयो। मनमनै प्रफुल्ल भइरहेकी थिएँ। मलाई उहाँसँग कुरा गर्नुको एउटै कारण थियो- त्यो स्टोरी रियल हो वा काल्पनिक भनेर पत्ता लगाउनु। कुरा अघि बढाउन खोजिरहेकी थिएँ तर सिधै स्टोरीको बारेमा सोध्नु पनि उचित ठानिनँ।
अनि अर्को म्यासेज पठाएँ, ‘तपाईंको घर धनगढी हो नि?’
उताबाट तुरुन्तै रिप्लाई आयो, ‘हो हजुर।’
यसरी अपरिचित केटा मान्छेसँग आफैं कुराकानी अघाडि बढाउँदा मनमा कताकता डर पनि लागिरहेको थियो तर ढिला नगरी अर्को म्यासेज पठाएँ ‘तपाईंको त्यो सेतोपाटिमा आएको स्टोरी रियल हो कि काल्पनिक, मैले त छुट्याउनै सकिन नि भन्न मिल्छ भने भन्नुस् न है।’
उताबाट जवाफ आयो- त्यो स्टोरीबाहेक अरु केही सोध्नुस् न।
त्यसपछि मेरो मन अमिलो भएर आयो। कतै मेरो यो प्रश्नले उहाँलाई दु:खी त तुल्याएन। अब कुरो अन्तैतिर मोड्नुपर्छ सोचें र भनें, ‘तपाईं कता हुनुहुन्छ?’
उताबाट स्माइलसहितको जवाफ आयो, ‘कता हुनु नि, यति बिहानै जङ्गलमा छु माछा मार्दै।’
त्यसपछि ढुक्क भएँ कि मेरो कुराले उहाँलाई दु:खी तुल्याएको रहेनछ भनेर।
अनि कुराकानीलाई निरन्तरता दिन खोजें र अर्को म्यासेज गरें, ‘नेपालगञ्ज हुनुहुन्छ कि कैलाली?’
‘नेपालगञ्ज’ भन्ने रिप्लाई आयो।
यस्तो राम्रो स्टोरी लेख्ने मान्छेलाई भेटेरै कुरा गर्न पाए नि हुने नि भन्ने मनमा लागिरहेको थियो। फेरि अर्को म्यासेज गरें, ‘तपाईंलाई त्यस्तो गाह्रो केही छैन भने हामी भोलि बिहान कफी पिउने गरी भेटम न।’
म्यासेज सिन भयो तर केही रिप्लाई आएन।
एकछिनपछि फेरि म्यासेज गरें, ‘गाह्रो छ भने ठिकै छ।’
म्यासेजको पर्खाइमा थिएँ। एकछिनपछि उताबाट म्यासेज आयो, ‘तपाई| नेपालगन्ज आउने कि म काठमाडौं आउने?’
मेरो फेसबुकमा लिभ्स इन काठमाडौं भनेर लेखेको भएर उहाँले गेस गर्नुभयो होला कि म काठमाडौं बस्छु भनेर। ढिला नगरीकन हास्दै जवाफ दिएँ, ‘तपाईं हुन्छ मात्रै भन्नुस् न म नै नेपालगन्ज आउँछु।’
एउटा अपरिचित केटा मान्छेलाई भेट्न् प्लान बनाउँदै गर्दा मनमा अलिअलि डर पनि लागिरहेको थियो। तैपनि भेट्दैमा के नै हुन्छ र भन्ने मनसायले उहाँलाई भेट्ने प्लान बनाउँदै थिँए। एउटा केटी मान्छेले भेट्ने प्रस्ताव राखेको देख्दा उहाँलाई सायद विश्वास लागेको थिएन होला। स्टोरी पढेकै भरमा काठमाडौंदेखि नेपालगन्ज भेट्न् आउँछु भन्दा कसले पो पत्याउँछ होला र?
तैपनि मैले फेरि प्रश्न गरेँ, ‘कति बजे भेट्ने?’
मेरो विश्वास नलागेरै होला, हा हा हा.... म नेपालगन्जमै छु मिस तपाईंलाई जुनबेला आउन मन लाग्छ आउनुस् भनेर जवाफ पठाउनु भयो।
उहाँको कुराले मन प्रफुल्ल हुँदै थियो। ढिला नगरी स्माइल वाला इमोजीसहितको जवाफ फर्काएँ, ‘८ बजे पक्का है त।’
म कहाँ बस्छु र के गर्छु भन्ने उहाँलाई कुनै जानकारी थिएन। त्यसैले काठमाडौं बस्ने मान्छे ८ बजे कसरी नेपालगन्ज पुग्न सक्छ सोच्नुभयो। उहाँले मेरो कुरा मजाकमै लिनु भएछ र फेरि हास्दै भन्नुभयो, ‘अब उठेर मर्निङ वाक गर्दै आउनुस्, ८ बजेसम्म पुगिहालिन्छ नि। कति न टाढा हो र काठमाडौंबाट नेपालगन्ज।’
अब मेरो पालो ढिला नगरीकन म्यासेज टाइप गरिहालें, ‘भन्नुस् मात्र, म अहिले नै आउन सक्छु।’
मलाई जतिसक्दो चाँडो त्यो स्टोरीको बारेमा जान्नु थियो। त्यसपछि उताबाट हास्दै म्यासेज पठाउनु भयो, ‘ल आउनुस् त्यसो भए।’
फेरि ‘सुन्नु न’ भनेर अर्को म्यासेज पठाएँ। उहाँ एकदमै हासो मजाग गर्ने मान्छे हुनुहुँदो रहेछ तुरुन्तै रिप्लाई गर्नुभयो, ‘हजुर यसमा केही सुनिएन देखियो मात्र।’
मलाई त लागेको थियो उहाँ स्टोरीमा मात्र फन्नी हुनुहुन्छ तर उहाँ त रियलमै फन्नी मान्छे हुनुहुँदो रहेछ। नेपालीमा तपाईंको मोबाइल नम्बर दिनुस् न भन्न अफ्ठ्यारो लागेर इङ्लिसमा म्यासेज गरें, ‘क्यान आई गेट योर नम्बर?’
उताबाट जवाफ आयो, ‘नेपालगन्ज आएको दिन माग्नुस् म दिहाल्छु नि।’
उहाँलाई मोबाइल नम्बर दिन अफ्ठ्यारो लागेको हो या भाउ खोज्नुभएको हो मैले केही बुझ्न सकिनँ। फेरि इङ्लिसमै म्यासेज गरें, ‘आई विल बी देयर इन नेपालगन्ज एट।’
यति भनिसकेपछि उताबाट आफ्नो मोबाइल नम्बर पठाउनु भयो। गफ गर्दागर्दै ६ बजिसकेको थियो। जानलाइ ढिला हुन्छ भनेर ‘सी यु सर’ ८ बजे भेटौंला भनेर बिदा मागें। अनि बेडबाट उठेर सधैं झैं आफ्नो नित्यकर्म सकाएँ। भान्सामा गएँ, चिया रेडी थियो। चिया पिएर जाने तयारीमा लागें। कुनै नयाँ मान्छेलाई भेट्न जाँदैथिएँ, त्यतिकै जाने कुरा पनि भएन। मलाई पनि राम्री बनेर जानु थियो। रेडी भएर माइजूलाई एकछिन् साथीलाई भेटेर आउँछु है भन्दै त्यहाँबाट निस्कें। अनि उहाँले अस्ति पठाएको नम्बरमा फोन लगाएँ। फोन त गयो तर हत्तपत्त उठेन। अब उहाँ आउनु हुन्न कि भन्ने पिर लागिरहेको थियो र अन्तिम घण्टीमा फोन उठ्यो।
हेल्लो सर नमस्ते भनें र उताबाट उहाँले नमस्ते फर्काउनु भयो। आवाज सुन्दै मीठो लाग्यो। जस्तो राम्रो मान्छे उस्तै मीठो बोली रहेछ। नयाँ नम्बरबाट आएको फोन देखेर उहाँ कन्फ्यूज हुनुहोला भनेर सोधिहालें, ‘चिन्नु भो?’
उहाँको जवाफ आयो, ‘चिनिनँ हजुर को बोल्नुभयो?’
सायद उहाँलाई म भेट्न आउने कुरामा विश्वास लागेको थिएन होला। त्यही भएर उहाँले अपरिचित आवाज ठम्याउन सक्नुभएन होला। मैले, ‘हो र? ८ बजे कता भेट्ने त भनेर सोधिहालें।’ त्यसपछि त उहाँ पनि पक्कै बोल्ने मान्छे रेश्मा नै हो भनेर ढुक्क हुनुभयो होला सायद र भन्नुभयो, ‘ओहो मिस! पुगिहाल्नु भो क्या हो?’
अनि भनें, ‘मैले अघि भन्या हैन त। तपाईं भन्नुस् मात्र, म आइहाल्छु भनेर।’
सायद उहाँलाई विश्वास नलागेर रुममै बस्नु भा’थियो होला।
अनि भन्नुभयो, ‘भन्नुस न म कहाँनिर आउँ?’
मैले नर्सिङ होमगाडि बिपी चोकमा आउन भने। उहाँले फेरि सोध्नुभयो, ‘मजाग नगर्नुस् म मिस साँच्चिकै हो र?’
मैले फेरि रिसाएजस्तो गर्दै भनें, ‘नआउने भए म जान्छु।’
मेरो यस्तो जवाफले अलिअलl विश्वास दिलाएजस्तो गरेर भन्नुभयो, ‘हुन्छ आउँछु तर मलाई कसरी चिन्नुहुन्छ त बिपी चोकमा पुगेपछि?’
मैले हास्दै जवाफ दिएँ, ‘तपाइँलाई नचिन्नु के छ र?’
हुन पनि मैले उहाँको प्रोफाइल राम्रोसँग हेरेकी थिएँ र उहाँलाई सजिलैसँग चिन्छु भन्ने लागिरहेको थियो।
फेरि उहाँले हास्दै जवाफ दिनुभयो, ‘भयो, धेरै गफ नदिनुस्। ल म आउँछु, १० मिनेटमा पुग्छु।’
ठिक दस मिनेटपछि उहाँजस्तै मान्छे चोकको साइडबाट आइरहेको देखेर उहाँलाई फोन ट्राई गरें। धेरै बेरसम्म फोन नै उठेन।
एक छिनपछि खल्तीबाट फोन निकालेर कानतिर लग्नु भयो। अब उहाँ नै हो पक्का भनेर आफू भएको ठाउँतिर बोलाएँ। उहाँले मलाई देख्नुभयो र म उहाँको नजिकै गएँ।
हेर्दैगर्दा उहाँको र मेरो ड्रेस त उस्तै-उस्तै देखिँदै थियो। हामीले एउटै ड्रेस लगाउने सल्लाह पनि त गरेका थिएनौं तर कस्तो संयोग परेछ दुईटैको ड्रेस म्याच हुन पुग्यो। उहाँको पर्सनालिटी देखेर मन झन् लोभिन थाल्यो। जस्तो राम्रो मान्छे उस्तै मीठो बोली थियो। हामीहरू एकाअर्कालाई हेरिरहेका थियौं।
अनि मैले भनें, ‘देख्नुभयो, मैले भनेको हैन त म आउँछु भनेर।’
उहाँले पनि कुरा मिलाउन खोज्नु भएको होला। भन्नुभयो, ‘तपाईं आउनुहुन्छ भनेर म पूरै विश्वस्त थिएँ। ल जाम् तर कता जाम्?’
मैले पनि सोझो पारामा जवाफ फर्काए, ‘ठाउँ तपाईंको, मलाई के थाहा? जहाँ भन्नुहुन्छ त्यहीँ जाम्।’
त्यतिकैमा उहाँले बाइकमा बस्न इशारा गर्नुभयो। मैले पनि मजागमै भनिहालें, ‘तपाईंको बाइकमा बस्न त डर लाग्दैछ तर ठिकै छ हिन्नुस्। फर्किंदा मलाई घरसम्मै छोडिदिनुस् है, म अटोमा जान्नँ।’
सायद मैले भन्न खोजेको कुरा उहाँले बुझिसक्नु भएको थियो होला। यतिकैमा हामी अगाडि बढ्यौं, तर कता लग्नुहुन्छ भन्ने मलाई कुनै जानकारी थिएन। अगाडि बढ्दै थियौं, ठिक्क सिद्धार्थ कटेजबाट सिधै बाइक भित्र लग्नुभयो।
बाइक रोकेर उत्रिन आग्रह गर्नुभयो। त्यसपछि म उत्रिएँ। मेरो लागि त्यो ठाउँ नयाँ थियो। मनमा अनेक कुरा खेल्दै थिए। तर, केही नबोली हामी अघि बढ्यौं।
सिद्धार्थ कटेजको डल्फिन भन्ने क्याबिनमा बस्न भनेर एक जनाले भन्नुभयो। हामी भित्र पस्यौं। मौसम ठिक ठिकै थियो, जाडो सुरू हुन लागिसक्या छ। फेरि उस्तैमा ८ बजेको समय छ। आवश्यक त थिएन तर त्यता काम गर्ने एक जना भाइ आएर एसी अन गरेर गयो।
फेस टु फेस पर्नेगरी टेबलमा बस्यौं हामी। उहाँलाई के फिल हुँदैथियो थाहा छैन, तर मलाई उहाँको फेसमा सिधै हेर्न अप्ठ्यारो लाग्दैथ्यो। हामी अरु केही बोलेकै थिएनौं। यतिकैमा फेरि त्यही भाइ आएर उहाँलाई सोध्यो, ‘सर के लेराउँ।’
सायद उहाँ बोल्न खोज्दै हुनुहुन्थ्यो, उहाँभन्दा अगाडि म आफैं बोले, ‘दुईटा मिल्क कफी ल्याउनुस्।’
भाइ हुन्छ भनेर गयो अनि मैले सोधें, ‘तपाईंलाई मिल्क कफी मन त पर्छ नि?’
हुन त मैले मगाउनुभन्दा अघि सोधेकी भए हुन्थ्यो। तर, अगाडि सोध्न याद नै भएन। उहाँले मन्द मुस्कान दिँदै ‘मलाई मनपर्ने त्यही हो’ भन्नुभयो। खुसी लाग्यो उहाँको र मेरो रोजाइ पनि मिल्दो रहेछ भनेर।
अब हाम्रो कुराकानी सुरू हुन्छ।
उहाँले सोध्नुभयो, ‘तपाईं नेपालगन्जकै मान्छे हो?’
मैले हैन भनें।
‘अनि कसरी यता आउनुभयो?’
मैले घुमाएर उत्तर दिएँ, ‘तपाईको स्टोरी पढें, राम्रो लाग्यो। तपाईंलाई भेट्न आउँछु भन्दा तपाईंले हुन्छ भन्नुभयो अनि आएँ।’
उहाँले भन्नुभयो, ‘म अझै अल्मलमै छु, साँच्चै भन्नु न, तपाईंको घर कता?’
‘घर झापा विर्तामोड हो तर म काठमाडौं बस्छु।’
‘यता कसरी?’
मैले फेरि मजागमै उत्तर दिए, ‘तपाईसँग कफी पिउन।’
फेरि उहाँले सोध्नुभयो, ‘नेपालगन्जभित्र कतै झापा विर्तामोड भन्ने ठाउँ नि छ र?’
अब धेरै झुट बोल्नु हुँदैन सोचें र भने, ‘मेरो मामाघर यता हो। म यता आएको तीन दिन भयो, मामाको छोरी र म काठमाडौंमा सँगै बस्थ्यौं। लकडाउनले कतै जान नपाएर तनाव थियो केही दिन। प्लेन खुलेपछि दिदीसँग यतै आएको।’
‘अनि घर विर्तामोड भन्नु भो है?’
मैले हो भनें। अनि सोधें, ‘जानु भाएको छ कहिलै विर्तामोड?’
उहाले हास्दै उत्तर दिनुभयो, ‘म विर्तामोड ६/७ महिना बसेर आएको।’
मैले उत्सुक हुँदै सोधें, ‘हो र? कुन ठाउँ बस्नु भा’को?’
उहाँले हास्दै भन्नुभयो, ‘विर्तामोडमा अदुवा खोला कि के यस्तै छ नि, त्यहीँनजिक बसेको। धेरै पानी आएर सताको याद छ मलाई।’
‘मजाग नगर्नु न, मेरो घर नि त्यहीँ अदुवा खोलानिरै पर्छ तर म त्यता बसिनँ। म पहिलेदेखि नै काठमाडौंमै बसेकी, वर्षमा एक-दुईपटक मात्र घर जान्छु म।’
यति गफ हुँदै थियो, यतिकैमा त्यो भाइ कफी लिएर आयो।
त्यो भाइलाई एसीको रिमोट खै अलि जाडोजस्तो भयो, बढाएर जाउ भन्नुभयो। १६ बाट बढाएर २६ बनाएर त्यो भाइ आफ्नो बाटो लाग्यो।
अब मैले सोधे, ‘तपाईं के गर्नुहुन्छ?’
‘तपाईंले जुन स्टोरी पढेर मलाई भेट्न बोलाउनु भयो, त्यसमा सबै भनेको छु।’
मैले हास्दै भनें, ‘मैले फेरि पढ्नुपर्ने भो है?’
‘एक पटक फेरि पढ्नुस् न।’
सायद उहाँलाई कतै जान हतार थियो होला। ‘जाम्, अब निस्किम्’ भन्नुभयो र त्यताबाट निस्केर रिसेप्सनमा पुग्नुभयो। पैसा तिर्ने समय आयो, मैले म तिरम् भनें। उहाँले भयो मै तिर्छु आज भन्नुभयो।
मैले फेरि हास्दै भनें, ‘म त्यो सरस्वती हैन जसले जबरजस्ती नास्ताको पैसा तिरेकी थिई। म त नाई भनेपछि तिर्दिनँ।’
त्यति भन्दासम्म उहाँले पैसा तिरिसक्नु भयो र हामी निस्किनलाई बाइकमा बस्यौं। उहाँले हास्दै धम्बोझीमा छोड्दिम् भन्नुभयो।
मैले ‘भयो पर्दैन, घरसम्म छोड्दिनुस् भनें। मलाई यताको खासै थाहा छैन, बिपी चोकबाट भित्र भन्ने मात्र थाहा छ। हिँड्दै गए घर थाहा पाइहाल्छु।’
गफ गर्दै गयौं र घरको बाहिरसम्म छोडिदिनु भयो र बाई भनेर निस्किँदै गर्दा फेरि ‘रोक्नु त मिस’ भन्नुभयो।
म बाहिर आएँ। उहाँले सोध्नुभयो, ‘घर कहिले जाने?’
‘आज टिकट हेर्छु, पायो भने भोलि नै जाने। फिक्स भयो भने भन्छु है तपाईंले अनि एयरपोर्टसम्म पुर्याइ दिनुपर्ने हो। पुर्याइदिने कि नाई?’ भनें।
यतिकैमा उहाँ हुन्छ भन्दै निस्किनुभयो।
एकछिन म्यासेज गरें, ‘थ्यान्क यू सो मच।’
तर, त्यतिखेर कुनै रिप्लाई आएन।
एकछिनपछि रिप्लाई आयो, ‘केको लागि थ्यान्क यू नि?’
अनि मैले कुनै रिप्लाई नगरी टिकटको खोजीमा लागें। टिकटको कुरा भइसकेपछि साँझ ४ बजे फेरि म्यासेज गरें।
‘मेरो भोलि ९ बजेको टिकट भयो, पुर्याउन जानु हुन्छ कि नाई।’
उताबाट तुरुन्त रिप्लाई आयो, ‘शनिबार छ, म गइहाल्छु नि।’
मैले थ्यान्क यू भनेर फेरि म्यासेज गरें। उताबाट कुनै रिप्लाई आएन।
एक छिनपछि फोन ट्राई गरें फोन उठेन। कतै अब यतिकैमा कुराकानी सकिने त होइन भन्ने मनमा लागिरहेको थियो। नभन्दै एकछिन पछि उताबाट फोन आयो। सायद मैले फोन गरेको बेला बिजी हुनुहुन्थ्यो होला। तर, मैले तुरुन्त फोन काटें र एक म्यासेज गरे, ‘अघि छतमा गएर फोन गरेको, अहिले सबैसँग बसेछु अनलाइन आउनुस्।’
एक छिनपछि ‘हजुर’ लेखेर पठाउनु भयो। अनि हाम्रो कुराकानी सुरू भयो। अघि बिहान कफी खाँदादेखि घरसम्म छोड्दा मलाई के-कस्तो फिल भयो, सेयर गरें। यति मज्जाले कुरा हुन थाल्यो कि मानौं, हामीबीचको चिनजान ४/५ वर्ष अगाडिदेखि नै छ। भोलि बिहानै जानु थियो। त्यसैले, अब सुतम् है भनेर म बिदा भएँ।
बिहान भयो। गुड मर्निङ भनेर म्यासेज गरें। उठेर रेडी भएर बिपी चोकमा वेटिङमा बसें।
उहाँ पनि पनि रेडी भएर पुग्नुभयो। मलाई त्यतासम्म पुर्याउन मेरी दिदी आएकी थिइन्। शुभ यात्रा भन्दै दिदी त्यताबाट बिदा भइन्।
हामी दुई जना एअरपोर्टतिर लाग्यौं। ८:३० भइसकेको थियो, ९ बजेको टिकट थियो, हतारमा एअरपोर्ट पुग्यौं। छुट्टिने बेलामा त्यो स्टोरी रियल हो कि काल्पनिक हो भन्नेबारेमा सोध्नुपर्छ भनेर सोचेकी थिएँ। त्यो विषयमा कुराकानी गर्न नपाउँदै मेरो नाम बोलाइयो। मैले अन्तिममा कहिले आउनुहुन्छ काठमाडौं भनेर सोधें।
‘अर्को महिना’ भन्ने जवाफ आयो।
चाँडै आउनु न है भन्ने अनुरोध गरें। हामी गेटमा थियौं, मेरो नाम बोलाउँदै थिए। मलाई छुट्टिनै मन थिएन, हतारमा मैले के गरे थाहा छैन।
अंगालो हालेर बाई भन्दै पछाडि नफर्केर अघाडि गएँ। पछाडि फर्केर हेर्ने हिम्मत नै आएन। लाग्दैथ्यो मेरो केही किम्ती सामान यतै छोडेर जाँदैछु। मन थाम्न सकेकी थिइनँ। आँखाभरि आँशु थियो। हुन त हाम्रो भेट भा’को कति नै भएको थियो र। तर, कुनै-कुनै सम्बन्ध बनाउन समय नलाग्ने रै’छन्।
प्लेनमा बस्नुभन्दा अगाडि फोन गरें। राम्रोसँग जानुहोला है, म पुगेर फोन गरौंला भनें। एअरपोर्ट पुगें अनि उहालाई म पुगिसकें भनेर खबर गर्न मोबाइल खोजें। खल्तीमा मोबाइल थिएन। अनि ब्यागमा हेरें त्यता पनि भेटिनँ। सबैतिर हेरिसकें। मोबाइल कतै भेटिएन। मोबाइल कता खसेछ केही पत्तो लागेन।
घर पुगें तर उहाँसँग कन्ट्याक्ट गर्नका लागि म सँग उहाँको मोबाइल नम्बर नै रहेन। घरमा पनि मम्मी बुवासँग सादा सेट थियो। त्यसमा फेसबुक चल्दैन थियो। अब उहाँसँग कन्ट्याक्ट गर्नलाई म सँग कुनै अप्सन बचेन।
नेपालगन्जबाट आएको भएर केही दिन घरमै आइसोलेसनमा बसेकी थिएँ। तीन-चार दिनपछि त मलाई ज्वरो आयो। लगातारको ज्वरोले थला पर्न लाग्दा मनमा डर पलाउन थाल्यो। मनमनै सोच्न थालें- कतै मलाई कोरोना त लागेन।
ममी-बुवालाई भनेर उहाँहरूको सल्लाह अनुसार पिसिआर गर्नका लागि स्वाब दिन गएँ। तर, रिपोर्ट नेगेटिभ आयो। तैपनि केही दिन आइसोलेसनमै बसें।
उहाँलाई यो सब खबर सुनाउनु थियो तर आइसोलेसनमा बस्नुपर्दा अर्को मोबाइल पनि जुगाड गर्न सकिनँ। केही दिनपछि मलाई सन्चो भयो अनि म मोबाइल किन्न बजार गएँ। मोबाइल किनेर घर आउनेवित्तिकै मैले फेसबुक खोलेर उहाँको प्रोफाइल हेरें।
त्यहाँ नेपालगन्जमा भेटिएकी रेश्मा भन्ने स्टोरी सेयर गरिएको थियो। उहाँको प्रोफाइलमा मोबाइल नम्बर छ कि भनेर हेरे नभन्दै त्यहाँ उहाँको नम्बर देखें। अनि हतार-हतारमा फोन लगाए तर मोबाइल स्वीच अफ गरिएको रहेछ।