बझाङ जिल्लामा ठूला तथा साना दलले उम्मेदवारको टुङ्गो लगाए पनि स्थानीय तहको प्रमुख पदमा भने महिला उम्मेदवारको नाम समावेश छैन।
स्थानीय तहको प्रमुखका लागि जिल्लामा महिलाको उम्मेदवारी शून्य छ। ठूला दल नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले महिलालाई प्रमुखको उम्मेदवार नबनाएर उपप्रमुखमै सीमित राखेका हुन्।
साना दल नयाँशक्ति, राप्रपा, जनमोर्चालगायतका दलले ठूला दलसँग तालमेलको तयारी गरेकाले प्रमुख पदमा उम्मेदवार उठाएका छैनन्। दश गाउँपालिका र दुई नगरपालिका रहेको बझाङमा वडाध्यक्षमा समेत महिलालाई अध्यक्ष पदको टिकट दिइएको छैन।
जिल्लाका प्रमुख तीन दलबीचको चुनावी प्रतिस्पर्धामा महिला उम्मेदवार उठाउँदा पराजित हुने डर र महिलाले दबाब दिन नसक्दा प्रमुख पदको टिकट पाउन नसकेको महिला अधिकारकर्मी जयन्ती जोशीको भनाइ छ।
एक त महिला आफैँमा आत्मविश्वास छैन अर्को कुरा राजनीतिक दलहरुको मानसिकता अझै पनि महिलाले केही गर्न सक्दैनन् भन्ने भएकाले महिलाले पार्टीको निर्णय स्वीकार्न बाध्य भएको उनले बताइन्।
झन्डै २० वर्षपछि स्थानीय तहको निर्वाचन हुन गइरहेकाले आफूभन्दा अग्रज नेतृत्वका अगाडि आफूले प्रमुखको टिकट नपाएको काँग्रेसबाट उपप्रमुख पदको उम्मेदवार अमृतादेवी सिंह बताउँछिन्। जयपृथ्वी नगरपालिकाको प्रमुख पदका लागि आफ्नो दाबी भए पनि आफूभन्दा अग्रणी व्यक्तित्वको योगदानका कारण पार्टीको निर्णय स्वीकार्नुपरेको र उपप्रमुखमा चित्त बुझाउनुपरेको उपप्रमुखका उम्मेदवार सिंहको गुनासो छ।
आउँदो निर्वाचन सङ्घीय प्रणालीबाट हुन गइरहेकाले आफूलाई एक्कासि प्रमुख पदमा दाबी गर्न अप्ठ्यारो भएको सोही नगरपालिका एमाले उपप्रमुखका उम्मेदवार जुना जाग्रीले बताइन्।
त्यस्तै माओवादी केन्द्र उपप्रमुखका उम्मेदवार सरिता खड्काको पनि भनाइ उस्तै छ, लामो समयपछि नयाँ ढङ्गले निर्वाचन हुन गइरहेको र सिंहदरबारको सेवा गाउँघरमा दिनुपर्दा सेवाग्राहीलाई भनेजस्तो सेवा दिन सकिँदैन कि भन्ने सोच आएकाले प्रमुखको दाबी नगरेको उनले बताइन्। रासस