सुनसरीमा एक नगरपालिकासहित दुई गाउँपालिकाको नतिजा टुंगो लागेको छ।
दुहवी नगरपालिका, बर्जु गाउँपालिका र भोक्राहा गाउँपालिकाको नतिजा टुङ्गो लागेको हो। प्राप्त नतिजा अनुसार सुनसरीको दुहवी नगरपालिकामा फोरम लोकतान्त्रिकले प्रमुख र उपप्रमुख जितेको छ। प्रमुखमा वेदनारायण गच्छदारले नेकपा एमालेका विनयकुमार पोखरेललाई पराजित गरेका हुन्। गच्छदारका प्रतिद्धन्द्धी एमालेका उम्मेदवार पोखरेलले ५१२५ मत प्राप्त गरे। प्रमुख पद जितेका गच्छदारले ७४२० मत प्राप्त गरेका थिए।
त्यसैगरी दुहवीको उपप्रमुख तर्फ एमालेलाई हराउँदै फोरम लोकतान्त्रिककै सुनिता दाहाल विजयी भएकी छिन् । दाहालले ६८८३ मत प्राप्त गर्दा एमालेकी चन्द्रकलादेवी विश्वासले ५८८१ मत प्राप्त गरिन्।
भोक्राहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद संघीय समाजवादी फोरम नेपालले जितेको छ। अध्यक्षमा महेन्द्रप्रसाद यादवले ३५२८ मत प्राप्त गरे भने उपाध्यक्ष पुनमकुमारी मेहताले ३३४३ मत प्राप्त गरी बिजयी भइन्।
भोक्राहामा अध्यक्ष तर्फका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अजमल अख्तर अन्सारीले १९९३ र उपाध्यक्षमा नेपाली कांग्रेसकै अन्जुदेवि मेहताले २३०५ मत प्राप्त गरिन्।
त्यसैगरी सुनसरीको बर्जु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष फोरम लोकतान्त्रिकले जितेको छ। लोकतान्त्रिकका रघुनन्दन मेहताले ४७३४ मत ल्याए भने संगिता कुमारी रायले ४६२२ मत प्राप्त गरिन्। बर्जुमा प्रतिद्धन्द्धी एमालेका फनिलाल चौधरीले ३६९२ र एमालेकै सोमकुमारी गुरुङले ३६६८ मत प्राप्त गरिन्।
त्यसैगरी सुनसरीमा अहिलेसम्म वडाध्यक्षका ७२ जना उम्मेदवार विजयी भएका छन् । महिला सदस्य र दलित महिला सदस्य ७२/७२ जना र खुल्ला सदस्य तर्फ १४४ जना उम्मेदवार विजयी भएका छन्।