भारतीय सेनामा कार्यरत पर्वतका अनिश थापा मगर नवौं लिगलिगे राजा भएका छन्।
चेपेघाटदेखि लिगलिगकोट दरबारसम्म १३ किलोमिटर दूरी ५८ मिनेट २५ सेकेन्डमा पूरा गरी मगरले ६० हजार एक सय पुरस्कार हात पारेका हुन्।
यस वर्षका लागि राजा छान्न आइतबार लिगलिगकोटमा आयोजित दौड प्रतियोगितामा एक जना स्वीडेनका धावकसहित एक सय २५ धावक सहभागी रहे।
दौडमा पहिलो भएका धावक मगरको शीरमा चाँदीको श्रीपेच लगाइयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मगरको शीरमा श्रीपेच लगाएर राज्याभीषेक गराएका हुन्।
अनिश यसअघि दुइ पटक लिगलिगे राजा भइसकेका छन्। २०७१ र २०७३ मा राजा भएका उनी यसपटक पनि राजा बने। उनलाई पालुङटार नगरपालिकाले रथयात्रा गरी नगर परिक्रमा गराएको छ।
वाग्लुङका तीर्थ पुनले ५८ मिनेट ४० सेकेन्डमा निर्धारित दूरी दौडेर दोस्रो भए। पुनलाई ३५ हजार एक सय पुरस्कार दिइयो। नेपाली सेनामा कार्यरत रामजी बस्नेतले ५९ मिनेट २१ दौड पूरा गरी २५ हजार एक सय पुरस्कार जितेका छन्।
भेट्रान्स दौडतर्फ कीर्तिपुरका धर्म महर्जन पहिलो भए। उनले एक घण्टा १७ मिनेटमा दूरी पार गरे भने ललितपुरका पुष्पलाल श्रेष्ठले दुई घण्टा चार मिनेटमा दौड पूरा गरी दोस्रो र काठमाडौंका बैकुण्ठ मानन्धरले दुई घण्टा पाँच मिनेटमा दौड पूरा गरी तेस्रो भए।
चेपेघाटमा दौड उद्घाटन नेकपा सांसद चुडामणि खड्काले गरेका थिए भने विजेता धावकलाई पुरस्कार वितरणमा मन्त्री अधिकारी सहभागी रहेका थिए।
लिगलिगकोटमा स्वदेशी/विदेशी पर्यटक भित्र्याउन पूर्वाधार विकास गर्न गुरुयोजना बनाएर मन्त्रालयमा पेश गर्न मन्त्री अधिकारीले आयोजक संस्था लिगलिग विकास अभियानलाई आग्रह गरे।
लिगलिगकोटमा द्रव्यशाह दौडेर राजा भएको इतिहास छ। देशमा गणतन्त्र आएपछि २०६७ सालदेखि निरन्तर लिगलिगबासीले वर्षेनी राजा छान्दै आएका छन्।