प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वीट्जरल्यान्डको डावोस पुगेका छन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केहीबेरअघि ट्वीट गर्दै डावोस पुगेको जानकारी दिएका हुन्।
प्रधानमन्त्री ओली विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ पुगेका हुन्।
भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्र सचिव शंकरदास वैरागी लगायत उच्च अधिकारी सहभागी छन्।
प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल यही माघ १२ स्वदेश फर्कने छन्।
यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
स्वीट्जरल्यान्ड भ्रमण क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्ने छन्।
सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डावोस बैठकमा नेपालका प्रधानमन्त्रीले भाग लिन लागेको पहिलोपटक हो।
यो पनि:
डावोसको ‘पुँजीपति क्लब’ मा प्रधानमन्त्री ओलीले के भन्नेछन्?