बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकारले सर्वदलीय समिति गठन गर्ने तयारी गरेको छ।
खानेपानी मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले सो आयोजनाको बाँकी काम सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने बित्तिकै सर्वदलीय समिति बनाउने तयारी गरिएको जानकारी दिए।
बुधबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले सो आयोजनाको बाँकी काम एक वर्षभित्र सम्पन्न गर्ने सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख गरिएकाले त्यसमा शंका नगर्न पनि समितिका सदस्यहरूसँग आग्रह गरे। एक हप्ताभित्र सर्वदलीय समिति बनाएर सो आयोजनाको बाँकी कामलाई तीव्रता दिइने सचिव शर्माको योजना छ।
सचिव शर्माले सो आयोजनाको बाँकी काम छोडेर हिँडेको इटालियन कम्पनी सिएमसीलाई फर्काउने प्रयास असफल भएपछि सरकारले सो आयोजनाको बाँकी काम पनि सुरू गरिएको जानकारी दिए।
एसियाली विकास बैंक (एडिबी)को लगानीमा सरकारले सो आयोजनाको बाँकी कामलाई पनि अघि बढाएको हो।
टनेलमा नटबोल्ड कस्ने कामलाई सुरू गरिएको पनि खानेपानी मन्त्रालयले जनाएको छ।
सचिव शर्माले शुद्ध खानेपानी पिउने संवैधानिक अधिकारलाई सुनिश्चित गर्न जनशक्तिको अभाव रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि पहल गरिदिन समितिको गम्भीर ध्यानाकर्षण गराए।