युरोप भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएको तीन घण्टापछि प्रहरीले छाडेको छ।
तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र मीनभवन क्याम्पस इकाइका मन्दीप काफ्लेलाई प्रहरीले त्रिभुवन विमानस्थलको पार्किङबाट कालो झण्डासहित नियन्त्रणमा लिएको थियो।
शाहले गुठी विधेयकविरुद्धको प्रदर्शनमा सरकारले हस्तक्षेप गरेकोले प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोजेको बताए।
‘प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोजेका थियौं प्रहरीले समाए,’ उनले भने, ‘कालो झण्डा खोसे, तरुण दलको झण्डा मैले राखें।’
उनले संस्कृति तथा परम्परालाई हित नहुने गरी सरकारले ल्याएको गुठी विधेयक फिर्ता लिनुपर्ने बताए।
‘विरोधका आवाज जति दबाउन खोज्छौं उति बुलन्द हुन्छ,’ उनले भने, ‘शान्तिपूर्ण विरोध गर्दा किन गुठीयारमाथि प्रहरी दमन र हस्तक्षेप?’