राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय महाधिवेशन एक वर्षपछि गर्ने निर्णय गरेको छ।
आइतबार काठमाडौंमा सकिएको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले २०७७ जेठ महिनामा महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।
राप्रपाले पृथ्वीनारायण शाहको दिव्य उपदेश, महेन्द्रको राष्ट्रवाद र बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगिकार गर्ने निर्णय पनि गरेको छ।
पार्टीलाई कांग्रेस र कम्युनिष्टको विकल्पका रुपमा देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने संकल्प पनि गरेको श्रेष्ठले जानकारी दिए। उनका अनुसार राप्रपाले यस वर्षलाई ‘संगठन निर्माण वर्ष’ का रुपमा कार्यान्वयन गर्नेछ।
दुई चरणमा ४२ जिल्लामा सम्पन्न गरेको राष्ट्रिय स्वाभिमान यात्रालाई विभिन्न चरणमा ७७ वटै जिल्लामा संचालन गर्ने निर्णय पनि भएको उनले बताए। स्वाभिमान यात्रा भदौ महिनादेखि पुनः सुरु हुने उनले बताए।