बौद्धस्थित समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नीसहित तीन जनालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।
बुधबार अर्जुन प्रसाद कोइरालाको एकल इजलासले तीनै जनालाई जनही ३ लाख बुझाउन आदेश दिएको हो। धरौटीमा छुटे पनि उनीहरूको मुद्दा अदालतमा चलिरहने छ।
अदालतले हिजै धरौटी बुझाउन आदेश दिए पनि धरौटी नबुझाएकोले उनीहरूलाई कारागारमै राखिएको थियो।
‘उनीहरूका परिवारले धरौटी बुझाउन आज बल्ल आएका छन्। धरौटी बुझाएपछि उनीहरू छुट्नेछन्’, काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले भने।
उत्तमकी पत्नी कला सञ्जेल, कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।
गत असार २ गते समता अस्पतालमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले अस्पतालभित्र पासो लगाएर आत्महत्या गरेकी थिइन्।
सय रुपैयाँमा सबै रोगको उपचार गराउने भन्दै सञ्जेलले सामाजिक अभियान चलाएर अस्पताल सञ्चालनमा गर्दै आएका छन्।
उनी नेपालका ठूला प्रतिष्ठित व्यापारी र चन्दादाताको सहयोग लिएर अस्पताल सञ्चालन गर्दै आएका छन्।