जिल्ला वन कार्यालय रुकुमका सहायक वन अधिकृत विनोदप्रसाद कानुले छ लाख १४ हजार बराबरको जडिबुटी चोरी निकासी गरेको पुष्टि भएको छ।
कानुले कार्यालयबाट राजस्व दस्तुर दाखिला नगरी नक्कली चलानी नम्बर प्रयोग गरी गलत ढंगले जडिबुटी निकासी गरेको प्रमाण भेटिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
'उनले छ लाख १४ हजार ७३० रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति (जडिबुटी) हिनामिना गरी भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि भएको छ', कोइरालाले भने।
कानुसहित चार जनाविरूद्ध ठूलो मात्रामा राजस्व चुहावट गरेको आरोपपत्र दायर भएको उनले बताए।
दुर्गादिप इन्टरप्राइजेजका काठमाडौंका प्रो.दुर्गबहादुर खड्का, दीपक जडिबुटी सप्लायर्स एण्ड ट्रेडर्स सुर्खेतका प्रो.मानबहादुर वली र नेपाल हर्वल प्रोसेसिङ प्लान्ट बाँकेका प्रो.लालबहादुर वलीविरूद्ध पनि आरोपपत्र दायर भएको आयोगले जनाएको छ।
उनीहरूले जडिबुटी संकलनको इजाजत नलिइ नक्कली चलानीको आधारमा कानुनबमोजिम राजस्व दस्तुरसमेत नतिरी गैरकानुनी लाभ र नेपाल सरकारलाई हानी पुर्याउने काम गरेको बताइएको छ।
भ्रष्टाचार निवारण ऐन बमोजिम विशेष अदालत काठमाडौंमा दुर्गबहादुर खड्कालाई एक लाख ६८ हजार ६ सय ४० रुपैयाँ, मानबहादुर वलीलाई एक लाख १८ हजार ४० रुपैयाँ र लालबहादुर वलीलाई ३० हजार रुपैयाँ बिगो सजाय आरोपपत्र दायर गरिएको बताइएको छ।