भारतीय टेलिभिजन कम्पनी आइएनएक्स मिडियासँग सम्बन्धित भ्रष्टाचार र मुद्रा निर्मलीकरण मुद्धामा संलग्न रहेको शंका गर्दै भारतीय कंग्रेस नेता तथा पूर्व अर्थमन्त्री पी चिदम्बरम पक्राउ परेका छन्। बुधबार साँझ उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी हिरासतमा राखेको हो।
भारतीय अनलाइन पत्रिका स्क्रोल.इनका अनुसार चिदम्बरमसँग बिहीबार बिहान दस बजेदेखि एक बजेसम्म सिबिआइले बयान लिएको छ। बिहीबारै अपराह्न चार बजे उनलाई अदालतमा पेश गरी थप अनुसन्धानका लागि हिरासतमा राख्न माग गरिनेछ।
मनमोहन सिंहको सरकारमा चिदम्बरम गृहमन्त्री थिए। त्यति बेला अर्थमन्त्री रहेका प्रणव मूखर्जी राष्ट्रपति भएपछि चिदम्बरमले अर्थ मन्त्रालय सम्हालेका थिए।
आइएनएक्स मिडियाकी मालिककी श्रीमतीको बयानका आधारमा पी चिदम्बरमलाई हिरासतमा लिइएको हो। अर्थमन्त्री भएकै बेला चिदम्बरमले आफ्नो छोरा कर्ती चिदम्बरमको कम्पनीलाई आर्थिक सहयोग गर्न आग्रह गरेको भन्दै उनले बयान दिएकी थिइन्।
भारतको चिदम्बरमको पक्राउलाई राजनीतिक प्रतिशोधका रूपमा लिइएको छ। डिएमके पार्टी अध्यक्ष एमके स्टालिनले चिदम्बरमको पक्राउ भारतको निम्ति लज्जाको विषय भएको बताएका छन्।
चिदम्बरमले पक्राउ पर्नुअघि पत्रकार सम्मेलन गरी आफू निर्दोष रहेको दाबी गरेका थिए। यसको डेढ घन्टामै उनी पक्राउ परेका थिए।