कार्यवहाक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतिपूर्ण बन्दै गएको बताएका छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेश सरकारद्वारा निर्माण गरिएको पार्कको उद्घाटन गर्दै उनले सार्वजनिक सम्पत्तिको सुरक्षा नै मुख्य चुनौतीको विषय बनेको बताए।
उनले मुलुकभर नै सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति देखिएको र त्यो प्रवृत्ति पार्टीभित्रै पनि देखिएको संकेत गरे।
उनले सार्वजनिक जग्गा उपभोग गर्न खोज्ने व्यक्तिको नाम भने उल्लेख गरेनन्। उनले भने, ‘अहिले एउटा हाम्रो अगाडि चुनौती छ। सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीहरू भित्रै समस्या छन्। म तपाईंहरूलाई तोकेर भन्न चाहन्नँ। हामीभित्रै समस्या छन्। सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्तिहरू छन्। यो गलत चिज हो। यसविरूद्ध जुध्नुपर्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो।’
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले क्षतिग्रस्त बनेका सम्पदाहरूको पुनर्निर्माणको कामले गति लिएको भन्दै सहयोग र सहकार्यमा सहभागी हुन नगरवासीलाई आग्रह गरे।
धरहरा पुनर्निर्माणको काम संघीय सरकारद्वारा पुनर्निर्माण प्राधिकरणले अघि बढाइसकेको तथा रानी पोखरी र काष्ठमण्डप पुनर्निर्माणको काम पनि धमाधम भइरहेको भन्दै पुनर्निर्माणको काममा अवरोध पुर्याउने काम कहीकतैबाट गर्न नहुनेतर्फ सचेत गराए।
विगतमा विभिन्न बहानामा हुने गरेका विरोधले पुनर्निर्माणका काममा समस्या भएको गुनासो पनि उनले गरे।