विवेकशील नेपाली दलले महामारीको रूपमा फैलिँदै गरेको डेंगी नियन्त्रण गर्नको लागि सरकारको ध्यानाकर्षण गरेको छ।
बुधबार दलले विज्ञप्तिमा जारी गर्दै अहिले देशका विभिन्न भागहरूमा महामारीकै रूपमा फैलँदै गरेको डेंगी नियन्त्रणमा सरकारलाई गम्भीरताका साथ नेतृत्व लिन जोडदार अपिल गरेको हो।
अहिले ४८ जिल्लामा डेंगी फैलिएको पनि सरकार भने मौन बसेको भन्दै दलले आपत्ति जनाएको छ। दलले व्यंग्य गर्दै ‘डेंगी देखियो, सरकार हरायो’ भनेको छ।
‘वैशाखदेखि नै प्रकोपको रूपमा आएको यो रोग अहिले देशको ४८ जिल्लाहरूमा फैलिएको छ। चिकित्सकहरूकै अनुसार पनि अस्पताल आएका अनि नआएका गरेर ७० हजार बिरामी पुग्ने आँकलन छ। यति हुँदा पनि सरकार बेखबर झैं देखिएको छ’, दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै ठोस कार्यक्रम ल्याएर नियन्त्रण गर्न सकेको छैन। संघीय, प्रादेशिक तथा स्थानीय सरकारबीच राम्रो समन्वय र सहकार्य गरी प्रभावकारी रूपमा काम भएको छैन।’
डेंगी नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले कुनै ठोस कदम नचालेको भन्दै त्यसतर्फ ध्यान दिन दलले अपिल गरेको छ।
प्रदेश सरकार र स्थानीय सरकारले पनि कुनै पहली कदम नचालेको भन्दै दलले डेंगी नियन्त्रणका लागि गम्भीर बन्न आग्रह गरेको छ।
साथै, अहिलेको यो अवस्थामा निःशुल्क र सहज उपचारको बन्दोबस्त मिलाउन समेत दलले सरकारलाई अपिल गरेको छ।