सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ।
शनिबार अपरान्ह ४ बजेदेखि सुरू भएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नौ जना सचिवालय सदस्यहरू उपस्थित छन्। बिहीबार स्थगित भएको बैठक शुक्रबार संविधान दिवस परेकोले शनिबारका लागि सरेको थियो।
केही दिनअघि प्रदेश नम्बर २ मा नेकपाभित्र देखिएको आन्तरिक विवादलगायत विषय बैठकमा छलफल हुनेछ।
स्थायी समिति सदस्य रघुबीर महासेठ र प्रभु शाहविरूद्ध परेको उजुरीबारे पनि छलफल हुने सचिवालय स्रोतले जानकारी दियो। पार्टी एकताका बाँकी कामहरू र जिम्मेवारी बाँडफाँटबारे पनि बैठकमा छलफल हुनेछ।