मंसिर १४ गते हुने उपनिर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय कास्कीले तयारी तीव्र पारेको छ।
निर्वाचन आयोगले रिक्त रहेका स्थानमा मंसिर १४ गते निर्वाचनको लागि अन्तिम नामावली प्रकाशन गरिसकेको छ।
कास्की क्षेत्र नं २ बाट निर्वाचित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको छ।
कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनको मतदाताका लागि ७१ हजार ८ सय ७१ जनाको अन्तिम नामावली प्रकाशन गरको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए।
उनले करिब पहिलेको भन्दा १ हजार २ सय २० जना मतदाता थपिएको बताए।
कास्की क्षेत्र नम्बर २ मा अघिल्लो निर्वाचनमा ७० हजार ६ सय ५१ मतदाता थिए।
उनले कास्की २ मा ३२ निर्वाचन स्थल र ८२ वटा केन्द्रहरु तोकेको बताए।
केन्द्रको सुरक्षा व्यवस्था, आवश्यक कर्मचारी तोक्ने र निर्वाचनका लागि आवश्यक सामग्री खरिद गर्ने काम भइरहेको बताए। उपनिर्वाचन हुने कास्कीको निर्वाचन क्षेत्र-२ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्दछन्।
अघिल्लो निर्वाचनमा रवीन्द्र अधिकारीले नेपाली कांग्रेसका उम्मेद्वार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए।
अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेको तथ्यांक छ। उपनिर्वाचनका लागि ठूला पार्टी नेकपा र नेपाली कांग्रेस मात्रै हैन साना पार्टीहरू पनि उपनिर्वाचनको तयारीमा लागेका छन्। उपनिर्वाचनका लागि उम्मेद्वार चयन र विभिन्न कार्यक्रम गर्ने योजना लगाएतका कामहरू अगडि बढाएको साझा पार्टी गण्डकीका संयोजक महेश भण्डारीले बताए।
अघिल्लो निर्वाचनमा ७० हजार ६ सय ५१ मतमा ४९ हजार ९ सय ६ मत खसेको थियो। त्यसमध्ये ४७ हजार ९ सय ८८ मत सदर भएको थियो।
१३ जना उम्मेदवारले विभिन्न राजनीतिक पार्टीबाट उम्मेदवारी दिएका थिए। गण्डकी प्रदेशमा बागलुङको क्षेत्र नं २ ‘ख’ बाट गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको निधन भएपछि रित्त रहेको छ।
बागलुङको पनि उपनिवार्चनको तयारी धमाधम भएको छ।
त्यसैगरी गण्डकी प्रदेशमा तीन वडाध्यक्षको लागि नवलपुरको बौदिकाली वडा नं ५, लमजुङ सुन्दरबजार-२, बागलुङ बडीगाड गाँउपालिका २ मा उपनिर्वाचन हुनेछ।