युवा अधिकारका विषयमा अग्रगामी व्यवस्था गरेकोमा नेपालको संविधानले 'फ्युचर पोलिसी सिल्भर अवार्ड २०१९' प्राप्त गरेको छ।
द्वन्द्वबाट शान्ति तर्फ नेपाल अगाडि बढेको मुलुककालागि संविधान उपलब्धि भएको उल्लेख गर्दै सर्बियाको राजधानी बेलग्रेडको अन्तर-व्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनका नेपाललाई अवार्ड प्रदान गरिएको हो। सम्मेलनमा १ सय ४० देशका प्रतिनिधि सहभागि भएका थिए।
वर्ल्ड फ्यूचर काउन्सिलले आईपीयू र संयुक्त राष्ट्रसंघ विकास नियोग (यूएनडीपी)सँगको सहकार्यमा नेपालसँगै रुवान्डा, स्टोनिया, स्कटल्याण्ड, दक्षिण अफ्रिकालगायत आठ मुलुकलाई विभिन्न अवार्ड प्रदान गरेको हो। नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्वन्द्व व्यवस्थापनमा हासिल गरेको सफलतालाई पहिचान गरी अवार्ड प्रदान गरिएको वर्ल्ड फ्यूचर काउन्सिलले जनाएको छ।
कानुनमा युवा सहभागीता, सशक्तिकरण, विभेद अन्त्यको सुनिश्चितता, स्वच्छ वातावरणको सुनिश्चिततालगायतका कानुनी व्यवस्था उदारणीय भएको काउन्सिलले उल्लेख गरेको छ। त्यसैगरी युवाका लागि राष्ट्रिय युवा नीति निर्माण गरी राष्ट्रिय युवा परिषद् गठनलाई पनि नेपालको युवा अधिकार बारेको उपलब्धी भनिएको छ। नेपालको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्वाड ग्रहण गरेका हुन्।
अध्यक्ष तिमिल्सिनाले नेपालको संविधानले मौलिक अधिकारमार्फत युवाहरुको भविष्य र प्रगती पथलाई सुनिश्चित बताए। 'नेपालको संविधानले शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, स्वच्छ वातावरण र खाद्य सम्प्रभुता नेपालीको मौलिक हकका रुपमा व्याख्या गरेको छ। यो हाम्रो उपलब्धी हो,' तिमिल्सिनाले भने।