उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले साना तथा अतिकम विकसित मुलुकको सुरक्षा र विकास मुद्दाले अन्तर्राष्ट्रियस्तरमा प्राथमिकता पाउनुपर्ने बताएका छन्।
चीनको बेइजिङको बेइजिङ-सिन्जुवाङ फोरममा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले नेपाल न्यायपूर्ण र समतामूलक विश्व व्यवस्थाको पक्षपाति रहेको बताए।
कुनै एक ठाँउको गरिबी सबै ठाउँको सुरक्षा शान्ति र स्थायित्वका लागि चुनौती भएको भन्दै पोखरेलले विकसित मुलुकहरूले आफ्नै सुरक्षाको लागि पनि कम विकसित देशहरूलाई सहयोग गर्न आवश्यक रहेको बताए।
आफ्नो कमजोरी नहुँदा समेत साना राष्ट्रहरूले जलवायु परिवर्तनका कारण विभिन्न चुनौतीहरू सामना गर्नुपरेकाले पर्यावरण जोगाउन विकसित मुलुकहरूले आवश्यक सहयोग गर्नुपर्ने बताए।
'नेपालले भोग्नुपरिरहेका जलवायु परिवर्तनका समस्याहरूको बारेमा विकसित र औद्योगिक ध्यानाकर्षण गराउन चाहन्छु,'पोखरेलले भने 'हिमालय क्षेत्रको संवेदनशील पर्यावरणबारे सबैमा सचेतना बढाउन र जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने दिशामा पारस्परिक सहयोगलाई अभिवृद्धि गर्न नेपालले सन् २०२० को अप्रिलमा सगरमाथा संवाद आयोजना गर्न लागेका छौं। त्यसमा सहभागिताका लागि म सबैलाई आमन्त्रण गर्दछु।'
विश्वका ६८ देशका ६ सयभन्दा बढी प्रतिनिधिहरूले उक्त फोरममा भाग लिएका थिए।