४७ बर्षका जस्टिन ट्रुडो क्यानडामा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएका छन्।
क्यानडामा मंगलबार सम्पन्न निर्वाचनमा ट्रुडोको लिबरल पार्टीले संसदका ३३८ सिटमध्ये १५७ सिटमा विजय हासिल गरेको छ। यो सामान्य बहुमतका लागि चाहिने १७० सिट भन्दा १३ सिट कम हो।
ट्रुडोको पार्टीले अघिल्लो निर्वाचन भन्दा यसपाली २० सिट कम जितेको छ। ट्रुडोको प्रमुख प्रतिद्वन्द्वी कन्जरभेटिब पार्टी भने संसदमा १२० सिट मात्र जित्न सफल भएको छ।
ट्रुडोले संसदमा भारतीय मुलका जगमित सिंहले नेतृत्व गरेको न्यू डेमोक्र्याटिक पार्टीको सहयोगमा सरकारको नेतृत्व गर्ने भएका छन्।
मानव अधिकार अधिवक्ता सिंहको पार्टीले संसदमा २४ सिट जितेको छ।
दक्षिणपन्थी हावा चलिरहेको अहिलेको विश्व राजनीतिमा ट्रुडो प्रमुख लिवरल र प्रगतिशील नेता मानिन्छन्। ट्रुडोका बाबु सन् १९७१मा क्यानडाका प्रधानमन्त्री थिए।
उनले क्यानडामा जातीय विविधता, लैंगिक समानता, र सामाजिक न्यायको पक्षपोषण गर्दै आएका छन्। उनको पहिलो मन्त्रीमण्डलमा महिला मन्त्रीको संख्या झण्डै आधा थियो।