पेस्तोलसहित पक्राउ परेका कार्यकर्ता छुटाउन नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले नेपालगन्ज बन्द गरेको छ।
कात्तिक १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्जबाट पेस्तोलसहित चार जनालाई पक्राउ गरेको थियो। प्रहरीले तरुण दल नेपालगन्जका सभापति सन्दीपजंग शाहसहितलाई पक्राउ गरेको थियो।
पक्राउ परेकालाई छुटाउन माग राखेर तरुण दलले नेपालगन्ज बजार, विद्यालय तथा सवारीसाधन ठप्प पारेको छ।
तरुण दलले उनीहरूलाई प्रहरीले फसाउन आफैं पेस्तोल गाडीमा राखेर समातेको आरोप लगाएका छन्। ‘तरुण दलले बन्द गरेको रहेछ, किन हो थाहा भएन,’ प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, ‘हामी बन्दले सर्वसाधरणलाई असर नगरोस् भनी सहज गर्नतिर लागेका छौं।'
प्रहरीले मस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा१८च ४२११को कार चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाइराखेको मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोलसहित शाहसहितलाई पक्राउ गरेको थियो। उक्त पेस्तोल शाहकै गाडीबाट बरामद भएको प्रहरीको भनाइ छ।
प्रहरीले हतियारसहित पक्राउ परेकालाई कानुनी कारबाही भएरै छाड्ने भन्दै उनीहरूलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरिरहेको छ।