आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिला गरी सुरू भयो।
पौने २ बजेतिर सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भन्नेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले बसेको ठाउँबाट उठेर विरोध जनाए।
कांग्रेस सांसदले उभिइरहेपछि सभामुख सापकोटा बोले। उनले आजसमेत गरी तीनपटक बैठक अवरूद्ध भएको भन्दै बैठकलाई जीवन्त, चलायमान र प्रभावकारी बनाउने साझा उद्देश्य सबैको भएको बताए।
त्यसपछि उनले माघ १४ मा आफूलाई सभामुख भएकोमा बधाई दिएको दिन सम्झिए।
‘मलाई बधाई तथा शुभकामना दिँदै गर्दा सबै माननीय सदस्यहरूले, खासगरी प्रतिपक्षी दलका नेताले समेत यो सदन निष्पक्ष होस्, समानताको व्यवहार होस् भनेर सुझाव दिनुभएको थियो। त्यो सुझाव मैले स्मरण गरिराखेको छु,’ सभामुख सापकोटाले भने।
उनले संविधानको व्यवस्थाबारे पनि प्रतिपक्षी दललाई स्मरण गराए।
उनले कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई अख्तियारले मुद्दा दर्ता गरेको सन्दर्भतर्फ संकेत गर्दै धारा १०५ मा स्पष्ट रूपमा भनेको, अदालतमा विषय प्रवेश गरेकोले यहाँबाट निरूपण हुन सक्दैन भन्ने कुरा स्वत: स्पष्ट रहेको भन्दै कांग्रेसलाई सम्झाए।
‘दुई दिनसम्म दलका भनाइ तपाईंहरूले राखिसक्नुभएको छ। एउटा सन्देश पनि गइसकेको छ। मलाई अहिले पनि धेरै मान्य सदस्यहरूले हामी जिल्ला नगएर जनताका कुरा उठाउन बसिरहेका छौं। बोल्ने वातावरण बनाउनुपर्छ भनेर अनुरोध गर्नुभएको छ,’ सभामुख सापकोटाले थपे।
त्यसपछि उनले संवैधानिक आयोगले गरेका कुरामा संसदले निरूपण गर्न नसक्ने पनि बताए।
‘पहिलो कुरा संवैधानिक आयोगले गरेको निर्णय भयो, दोस्रो कुरा अदालतमा गइसकेको विषय भयो। त्यसकारणले गर्दा अब म माननीय सदस्यहरूलाई विशेष अनुरोध गर्छु, तपाईंहरू बसिदिनुस्। यो सदन सुचारू गर्नका लागि सहयोग गर्नुस्। यसले नै सदनको गरिमा कायम रहनेछ भन्ने अनुरोध गर्दछु,’ सापकोटाले भने।
त्यसपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले आफूहरूलाई बोल्न समय माग गरे। उनले ललिता निवास प्रकरणमा अख्तियारले कानुनको प्रयोग विभेदकारी ढंगले गरेको बताए। उनले आफ्ना कुरा राख्न बोल्न पाउनुपर्ने दोहोर्याए। उनले सत्ताका नजिक भएकाले कानुनको दुरूपयोग गरेको आरोप लगाए।
यतिञ्जेल सुनेर बसेका सभामुख सापकोटा बोले, ‘माननीय सदस्य मैले तपाईंका कुरा बुझेँ। तपाईंलाई बोल्न मैले समय पनि दिएको छैन। आफ्ना भनाइ विट मार्नुस्।’ उनले संसदको कार्यक्षेत्रभित्र उक्त कुरा नपर्ने पनि जानकारी गराए। नियमावली २१ (घ) को समेत प्रतिपक्षलाई जानकारी भएको उनले सुझाए।
दुई दिनसम्म भरपुर र सविस्तार प्रतिपक्षी सांसदले राखेका कुरा आफूले सुनेको सभामुख सापकोटाले बताए। ‘अरू विषयमा बोल्न सकिन्छ। छलफल गर्न सकिन्छ। हामीलाई जनताले हेरिरहेका छन्,’ उनले भने, ‘सदनलाई गतिशील बनाउनुपर्छ। छलफलको ढोका खोलिदिनुस्। फेरि विनम्र अनुरोध गर्छु। मलाई सदन चलाउन सहयोग गर्नुस्।’
यसपछि फेरि कांग्रेस सांसद बडु बोल्छन्। उनले आफ्ना कुरा राख्न सभामुखसँग समय माग गर्छन्। तर माइक खोलिएको हुँदैन।
त्यसपछि बोलेका सभामुख सापकोटाले माघ २८ गते मंगलबार दिनको १ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी गराउँछन्।