आफ्नो सञ्चालकविरूद्ध समाचार प्रकाशित गरेको भन्दै सिरान टेक कम्पनीले अनधिकृत रूपमा समाचार हटाइदिएको 'काठमाडौं प्रेस डटकम' ले जनाएको छ।
सिरान टेक कम्पनी 'काठमाडौं प्रेस' को साइट डेभलपर हो। उसले अनलाइनको सिस्टमभित्रै घुसेर आफ्नो सञ्चालकविरूद्धको समाचार हटाइदिएको काठमाडौं प्रेसको दाबी छ।
सिरान टेक कम्पनी भनेको इसेवाको सहायक कम्पनी हो। यसका सञ्चालकमध्ये अस्गर अली प्रधानमन्त्रीका आइटी विज्ञ हुन्।
काठमाडौं प्रेस अनलाइनले बुधबार प्रधानमन्त्रीका आइटी विज्ञ अली, उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा स्वराज र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज चीनबाट कोरोना भाइरसविरुद्ध आवश्यक सामान खरिदको अनियमिततामा सामेल रहेको समाचार प्रकाशित गरेको थियो।
उक्त समाचार हटाउन पटक-पटक दबाब आएको तर नहटाएपछि सिस्टमभित्रै घुसेर समाचार हटाइदिएको काठमाडौं प्रेसका प्रबन्ध सम्पादक गोविन्द परियारले सेतोपाटीलाई बताए।
‘हामीले हिजो साँझ उक्त समाचार प्रकाशित गरेका थियौं,’ परियारले सेतोपाटीसँग भने, ‘समाचार प्रकाशित भएपछि हटाउन दबाब आयो। हामीले समाचार हटाउँदैनौं, तपाईंहरूको केही मत छ भने लेखेर पठाउनुहोस् छापिदिन्छौं भनेका थियौं। तर आज बिहान साढे ११ बजेतिर साइटबाट एकाएक समाचार हटाइयो।‘
आफूलाई बिहान इसेवा र सिरान टेकसमेत सञ्चालन गर्ने एफवान सफ्टका सञ्चालक विश्वास ढकाल र इसेवाका प्रमुख कार्यकारी सुवास शर्माले फोन गरेर समाचार हटाउन भनेको परियारले बताए।
‘हामीले नहटाउने भनेपछि हाम्रो साइट हेर्ने एक कर्मचारीले फोन गरेर मलाई माथिको आदेश छ म समाचार हटाउँदै छु भने,’ परियारले भने, ‘त्यसपछि दिउँसो हाम्रो साइटमा त्यो समाचार ‘रिपोस्ट’ गर्ला भनेर अपडेटसमेत गर्न नमिल्ने बनाइदिए।‘
काठमाडौं प्रेसका प्रधान सम्पादक कसमस विश्वकर्माले सरकारका मान्छेको नाम मुछिएपछि पत्रकारितालाई थिच्ने काम भएको बताए।
‘न्यूज गलत भएको भए प्रेस काउन्सिल जान सकिन्छ, कानुनी उपचार खोज्न सकिन्छ,’ उनले भने, ‘पत्रकारितालाई दबाउन आइटी कम्पनीलाई थर्काउने काम भयो।‘
प्रधान सम्पादक विश्वकर्माले सञ्चार माध्यममाथि स्वार्थ समूह हाबी हुनु गलत भएको बताए। ‘यो स्वतन्त्र पत्रकारितामाथिको अचाक्ली हो। पत्रकारितामा गलत प्राक्टिस भयो,’ विश्वकर्माले भने, ‘यो गैरकानुनी काम हो।‘
प्रबन्ध सम्पादक परियारले डेभलपर कम्पनीले सिस्टममा छिरेर ‘कन्टेन्ट’ चलाउनुले नेपालको डाटा सुरक्षामै प्रश्न उठेको बताए।
‘इसेवाले नेपालका बैंकहरूको अनलाइन कारोबार हेर्छ। इसेवासँग अहिले नै लाखौँ मानिसको व्यक्तिगत विवरण छ,’ परियारले भने, ‘यस्तो अवस्था रहने हो भने इसेवाले मानिसको बैंक खाताबाट पैसासमेत चोर्न सक्छ।‘
काठमाडौं प्रेसले अहिले हटाइएको समाचार पुन: प्रकाशित गरेको छ।
एफवान सफ्टका विश्वास ढकाल र अस्गर अलिसँग सेतोपाटीले फोन सम्पर्क गर्दा कुराकानी हुन सकेन।