नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठ २ गतेको सहमति अनुसार अगाडि बढ्न प्रधानमन्त्री केपी ओलीलाई प्रस्ताव गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन्।
'प्रचण्डले जेठ २ को सहमतिलाई कार्यान्वयन गर्न भन्नुभएको छ। यदि त्यसका लागि तयार नभए नयाँ ढंगले सहमति गर्न समेत भन्नुभएको छ,'स्रोतले भन्यो,'जवाफमा प्रधानमन्त्री ओलीले यसबारेमा थप छलफलका लागि आफू तयार रहेको बताउनुभएको छ।'
प्रधानमन्त्री ओलीले भने मंसिर ३ कै सहमति कार्यान्वयन गर्न आफू तयार रहेको जवाफ दिएका थिए। प्रचण्डले यसअघिका प्रस्ताव समेत कार्यान्वयन नभएकाले नयाँ सहमति गर्नुपर्नेमा जोड दिएको स्रोतले जनाएको छ।
२०७५ जेठ २ गते तत्कालीन एमाले र नेकपा मओवादी केन्द्रबीच ५ बुँदे सहमति भएको थियो। सहमतिको चौथो बुँदामा समानता र समान अवधिका आधारमा आवश्यकता अनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख गरिएको थियो।
२०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपाको गठन भएको थियो।
तर २०७६ मंसिर ४ गते प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने र बाँकी कार्यकाल ओली प्रधानमन्त्री बन्ने सहमति भएको थियो। मंसिर ४ को सहमति कार्यान्वयन नभएको भन्दै प्रचण्डले नयाँ सहमति हुनुपर्ने प्रस्ताव गरेका हुन्।
उनले प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री या अध्यक्षमध्ये एक पद छोड्न समेत सुझाएका थिए।
नेकपाको जारी स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री ओलीको राजीनामाको माग भएको छ।