नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न ठाउँमा भएका प्रदर्शन रोक्न अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीलाई आग्रह गरेका छन्।
दुई अध्यक्षबीच आज भएको भेटवार्ताका क्रममा प्रचण्डले कुनै व्यक्ति विशेषका पक्षमा प्रदर्शन गराउनु जायज नभएको भन्दै ओलीलाई यो रोक्न भनेका हुन्।
प्रधानमन्त्री केपीशर्मा ओलीको पक्षमा देशका विभिन्न ठाउँमा दैनिकजसो प्रदर्शन हुन थालेको छ। यसअघि प्रचण्डले आजै बिहान महासचिव विष्णु पौडेललाई फोन गरी प्रदर्शन रोक्न भनेका थिए।
ओलीको पक्षमा बुधबार राजधानीमा भएको प्रदर्शन।
ओली– प्रचण्डबीचको आजको भेटमा कुनै निष्कर्ष ननिस्केको स्रोतले जनाएको छ। दुई अध्यक्षबीच भोलि पनि फेरि छलफल हुने भएको छ।
नेकपाभित्र जारी विवाद समाधानको प्रयासका लागि दुई अध्यक्षबीच छलफल भएको हो।
विवाद समाधानकै लागि स्थायी समिति बैठक असार २६ गतेसम्मको लागि सारिएको छ।
प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन्। प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन्।