प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जिल्ला समन्वय समितिलाई काम जिम्मेवारी दिएर विकास निर्माणसहितको काममा सक्रिय बनाउनुपर्ने बताएका छन्।
जिल्ला समन्वय समिति महासंघ प्रदेश २ द्वारा आयोजित प्रदेशस्तरीय विस्तारित भेलालाई महोत्तरीको जलेश्वरमा शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री राउतले केन्द्र सरकारले संविधानले प्रदत्त गरेको अधिकार कार्यान्वयन नगरेर जिल्ला समन्वय समितिहरूलाई पंगु बनाएको आरोप लगाए।
उनले संविधानले दिएको अधिकार लिनका लागि जिल्ला समन्वय समिति महासंघलाई थप सक्रियतापूर्वक अगाडि बढ्न सुझाव दिए।
मुख्यमन्त्री राउतले संघीय सरकारले स्थानीय तहलाई उपलब्ध गराउने बजेट र बालुवा गिट्टीबाट उठ्ने रोयल्टी जिल्ला समन्वय समितिमार्फत स्थानीय तहलाई वितरण हुनुपर्ने धारणा समेत राखे।