गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई आजै सपथ खुवाउने तयारी गरेकी छिन्।
संविधानको धारा १६८ उपधारा ५ अनुसार प्रदेश प्रमुख पौडेलले नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता नेपालीलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।
मुख्यमन्त्री नेपालीलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ।
प्रदेश प्रमुख पौडेलबाट सपथ लिए लगत्तै मुख्यमन्त्री नेपालीले आजै चार जना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
जसमा कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन्। उनीहरूलाई पनि आजै सपथ खुवाउने तयारी भएको छ।
मन्त्रालयको जिम्मेवारी टुङ्गो नलागेकाले तत्कालका लागि चारै जनालाई बिना विभागीय मन्त्री बनाउने सहमति भएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए।