नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ।
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा टोली नेताले निष्कर्ष सुनाइरहेका छन्।
राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न एमालेले १० वटा टोली नेता चयन गरेको थियो।
धेरैले उपाध्यक्ष संख्या बढाउनु पर्ने, केन्द्रीय समितिको संख्या बढाउनुपर्ने, पार्टीलाई नेकपा एमालेको निरन्तरताको रूपमा बुझ्नुपर्ने र त्यही अनुसार प्रतिवेदन तयार गर्न सुझाव दिएका छन्।
यस्तै उनीहरूले पदाधिकारी दुईभन्दा बढी पटक हुन नहुने र कार्यकारी पदमा दुई पटकभन्दा बढी राख्न नमिल्ने गरी बनाउनुपर्ने सुझाव दिएका छन्।
लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको तर्फबाट दलबहादुर राना, केन्द्रीय विभागको तर्फबाट खगराज अधिकारी र प्रदेश १ बाट हिक्मत कार्की र बागमती प्रदेशबाट आनन्द पोखरेलले सुझाव दिएका हुन्।
दलबहादुर रानाले पदाधिकारी दुई पटकभन्दा बढी बस्न नपाउने र कार्यकारी पदमा पनि दुई पटकभन्दा बढी बस्न नपाउने प्रावधान बनाउन सुझाव दिएका छन्।
'उपाध्यक्ष संख्या बढाउनु पर्छ होला। केन्द्रीय कमिटी पनि २२५ भन्दा बढी बनाएको राम्रो', बैठकमा उनले भने।
यस्तै, अर्का टोली नेता आनन्द पोखरेलले ७० वर्षको प्रावधान हटाउनुपर्ने माग भएता पनि अहिलेकै प्रावधान राख्दा पनि केही फरक नपर्ने बताए।
'तर सरकार पार्टीको नीति अनुसार चल्नुपर्छ', उनले भने।
यस्तै खगराज अधिकारीले उपाध्यक्ष सात जना हुनुपर्ने सुझाव दिएका छन्। उनले एमसिसीबारे पार्टीको धारणा माग गरेका छन्।
'एमसिसीबारे पार्टीको धारणा के हो? र यसमा पार्टी एकमत भएर अघि बढ्नुपर्यो', उनले भने।
संसद विघटन, पार्टी एकतादेखि सरकारबाट हटाइएको विषयमा पनि प्रष्ट उनीहरूको माग छ।