युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिने बताएका छन्।
आईतबार युवा तथा खेलकुद मन्त्रालयमा बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीप खेल्न बंगलादेश जान लागेका खेलाडी तथा प्रशिक्षकको विदाई गर्दै मन्त्री गहतराजले खेलाडीको मनोबल बढाउन व्यवस्थापकीय कुरामा मन्त्रालयले ध्यान दिने बताएका हुन्।
उनले खेलाडीको मनोबल बढाउन मन्त्रालयले नयाँ तरिका र नयाँपन अपनाइरहेको बताए। मन्त्री गहतराजले खेलका बेला मात्रै खेलाडीलाई राष्ट्रका गहना भन्ने र अरू बेला घर फर्काइदिने परिपाटी उचित नभएको भन्दै यो परिपाटीलाई सरकारले गम्भीरताका साथ लिने र खेलकुद क्षेत्रको प्रगतिमा मन्त्रालय लागिपर्ने बताए।
उनले नेपाली कसैको कहिल्यै अधिनमा नबसेको र वीर गोर्खालीहरुको देश भएकोले खेलाडीहरुले त्यसलाई मनमा राखेर शक्ति र साहसका साथ खेल्न हौसला दिए।
खेलकुद मन्त्री गहतराजले भने, ‘हामी नेपालीले विश्वमा सबैभन्दा स्वाभिमानका साथ प्रश्तुत हुनुपर्छ, आत्मविश्वासकासाथ प्रश्तुत हुनुपर्छ,किनभने हाम्रो इतिहास र विरासत त्यो छ, त्यो अनुसार हामी प्रश्तुत हुनुपर्छ। सबै खेलाडी, कोचहरुले उच्च मनोबलकासाथ प्रश्तुत हुनुहोस्, उत्कृष्ट व्यवस्थापन गरेर खेलाडीहरुको मनोबल कसरी उठाउने भन्ने बारेमा मन्त्रालयले नयाँ तरिकाले नयाँ पनका साथ काम गर्छ, खेलको बेलामात्रै राष्ट्रका गहना भन्ने खेल सकेपछि घर फर्काइदिने कसरी हामी अगाडि बढ्न सक्छौं।’
मन्त्री गहतराजले खेलाडीहरुले नेपाली माटो र गौरव गाथालाई सम्झिएर खेल्न आग्रह गरे। उनले अबको ध्येय जित भएको बताउँदै आँट र साहसका साथ खेलेको देख्न र उपाधि नेपाल ल्याउने आशमा आफू र देश रहेको भन्दै जितको स्वागतका लागि मन्त्रालय तयार भएको बताए।
बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीपमा सहभागी हुन राष्ट्रिय सिनियर र जुनियर टीमका खेलाडीलाई मन्त्री गहतराजले खादा र अविर लगाएर विदाइ गरे। जिम्न्याष्टिक च्याम्पियनशीपमा सहभागी हुन १२ जना खेलाडीहरु सोमवार बंगलादेश प्रस्थान गर्नेछन्।