सर्वोच्च अदालतका न्यायाधीशहरू शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा अस्पतालबाट डिस्चार्ज भएर निवास फर्किएपछि बल्ल इजलासमा बस्ने भएका छन्।
कोरोना संक्रमण भई अस्पताल बसेका प्रधानन्यायाधीश राणाले आफू शुक्रबार डिस्चार्ज हुने र निवासबाटै प्रशासन चलाउने भनेपछि उनीहरूले पनि गोलाप्रथाबाट इजलास गठन गरी मुद्दाको सुनुवाइ गर्ने भएका हुन्।
कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुँदा प्रधानन्यायाधीश राणाले बरिष्ठतम् न्यायाधीशलाई कायममुकायम नदिएपछि विवाद उठेको थियो।
प्रधानन्यायधीशले असमर्थ भई अदालतको काम गर्न नसकेमा, बिदा बसेमा वा विदेश गएमा बरिष्ठतम् न्यायाधीश कायममुकायम प्रधान्यायाधीश भएर काम गर्ने संवैधानिक व्यवस्था छ। तर आफू काम गर्न असमर्थ भएको, बिदा बसेको वा विदेश गएको जानकारी अदालतमा प्रधानन्यायाधीशले जानकारी दिनुपर्छ।
राणाले त्यस्तो जानकारी नदिई अस्पतालबाट मंगलबार आफैं पेसी तोकेका थिए।
बुधबारदेखि प्रधानन्यायाधीशको अधिकार कटौती भई गोलाप्रथाबाट इजलास र पेसी तोक्ने नियम लागु भए पनि सर्वोच्च प्रशासन अस्पतालमा रहेका राणाकै हातमा भएको भन्दै नेपाल बारले आपत्ति जनाएको थियो।
अस्पतालबाटै सर्वोच्च चलाएको भन्दै नेपाल बारले न्यायाधीशहरूलाई समेत नेतृत्वविहीन अदालतको इजलासमा नबस्न अनुरोध गरेपछि गोलाबाट पेसी तोकेर इजलास बसेका न्यायाधीशहरू बुधबार उठेका थिए।
कायममुकायमको विवाद उत्पन्न भएपछि इजलासबाट उठेर छलफलमा जुटेका न्यायाधीशहरूले प्रधानन्यायाधीशले अस्पतालबाटै सर्वोच्च चलाउने हो कि कायममुकायम तोक्ने हो भन्ने बुझ्न मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई खटाएका थिए।
बिहीबार १० बजे खबर ल्याउन भनेपछि उनले कुनै स्पष्ट खबर नल्याएको एक न्यायाधीशले बताए।
बिहीबार न्यायाधीशहरू नेपाल बार र सर्वोच्च बारका अध्यक्षहरूसँग छलफलमा बसेका थिए।
नेपाल बारले भने कोरोना लागेका प्रधानन्यायाधीश काम गर्न असमर्थ भएकाले स्वत: कायममुकायम बरिष्ठ न्यायाधीश दिपक कार्कीले लिएर इजलासमा फर्किन सुझाएको थियो।
नेपाल बारसँगको छलफल सकिएपछि सर्वोच्च अदालतका न्यायाधीशहरू फेरि छलफलमा जुटे।
छलफलका क्रममै उनीहरूले प्रधानन्यायाधीश राणालाई फोन गरेका थिए। सबै न्यायाधीशको उपस्थितिमा न्यायाधीश हरिकृष्ण कार्कीले फोन गर्दा प्रधानन्यायाधीश राणाले आफू शुक्रबार डिस्चार्ज हुने र निवासबाटै सर्वोच्च प्रशासनका काम गर्ने जानकारी दिए।
'उहाँले म भोलि डिस्चार्ज हुन्छु र निवासबाटै प्रशासनको काम गर्छु। पेसी तोक्ने काम गोलाप्रथाबाट भैहाल्छ बाँकी तपाईंहरू जे गर्ने गर्नुहोस् भन्ने जस्ता कुरा गर्नुभयो,' एक न्यायाधीशले भने, 'बारले आपत्ति जनाएपछि आज बन्दी, मुद्दा फिर्ता मिलापत्र जस्ता निवेदनबाहेकका मुद्दा सुनुवाइ गर्ने र प्रधानन्यायाधीशले निवासबाट काम सम्हालेपछि भोलि गोलाबाट तोकिएका पेसीमा सुनुवाइ गर्न इजलास फर्किने भएका छौं।'
बिहीबार दिउँसो अबेला पेसी सूची प्रकाशित भएको थियो।
प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषदमा भागबण्डा मागेको खबर दसैं अघि बाहिरिएको थियो। उनले भागबण्डामा मन्त्री बनाउन चाहेका गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरबहादु देउवाले मन्त्री बनाएपछि दुई दिन नपुग्दै उनले राजीनामा दिएका थिए।
प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद् संवैधानिक अंगमा समेत भागबण्डा खोजेर न्यायालयको गरिमा भत्काएको र फैसलाको सौदाबाजी गरेको भन्दै कात्तिकको दोस्रो साताबाट सर्वोच्च अदालतका सबै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन छुट्टाछुट्टै आन्दोलनमा थिए। प्रधानन्यायाधीशको राजीनामा माग्दै उनीहरूले प्रधानन्यायाधीशले तोकेका इजलास र उनीसँगको इजलास बहिष्कार गरेका थिए।
उनीहरू झण्डै एक महिना प्रधानन्यायाधीश राणाले तोकेका इजलासमा बसेनन्।
बुधबार गोलाप्रथा लागु भएसँगै बल्ल इजलास फर्किने भएका हुन्। गोलाप्रथा लागु भएसँगै प्रधानन्यायाधीशको पेसी र इजलास तोक्ने अधिकार कटौती भएपछि न्यायाधीशहरू इजलास फर्किएका छन्। तर राणाले राजीनामा दिनुपर्ने अडान कायम राख्दै उनीसँग इजलास सेयर नगर्ने भएका छन्।
नेपाल बारले सर्वोच्चको परिसरमा कालोपट्टि बाँधेर प्रदर्शन गर्ने, मूल गेटमा धर्ना बस्दै आएको छ।
आज भने प्रधानन्यायाधीश राणा कोरोना संक्रमण भएकाले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत् छन्।
त्यस्तै, नेपाल बारले भने प्रधानन्यायाधीशको राजीनामा, जिल्ला अदालत र उच्च अदालतमा पनि गोलाप्रथा लागु गर्न माग गर्दै सर्वोच्च परिसरमा विरोध प्रदर्शन जारी राख्ने जनाएको छ।