नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचनहरू समयमै हुनुपर्ने बताएका छन्।
चाक्सीबारीस्थित आफ्नै निवासमा शनिबार डाक्टर मिता सिंहकाे पुस्तक 'द स्ट्रगल अफ गणेशमान सिंह' काे लाेकार्पणपछि पत्रकारहरूले राखेका जिज्ञासाहरूमा स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचनहरू समयमै हुनुपर्ने बताएका हुन्।
संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्नेमा जोड दिँदै नेता सिंहले स्थानीय तहको निर्वाचन संविधान बमोजिम हुनुपर्ने बताए।
संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँच दलीय गठबन्धन सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भएको उनकाे भनाइ थियो।
‘त्यसै बनेको गठबन्धन सरकार होइन। यसको पृष्ठभूमिलाई हामीले बिर्सनु भएन,’ सिंहले भने, ‘त्यो कारणले धेरै कामहरूमध्येमा यो गठबन्धनको सरकारको सबभन्दा महत्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो।’
झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेडअनुसार काम गर्न नसकेको र संविधानविपरीत गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ‘ट्रयाक’ मा ल्याउन गठबन्धन बनेको उनले स्मरण गराए।