आन्तरिक विवाद पेचिलो बन्दै गएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन्।
यादवका प्रेस संयोजक महेश चौरसियाका अनुसार फागुन १३ गते बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक बोलाइएको छ।
३५ सदस्यीय कार्यकारिणी समितिको बैठकमा समयसामयिक राजनीति, संसदमा टेबल भएको एमसिसी, पार्टीभित्रको विवाद र सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनबारे छलफल हुने बताइएको छ।
माघमा भएको राष्ट्रिय सभा चुनावपछि जसपामा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीच विवाद बढेको छ।
यादवले निर्णयहरू एकलौटी गरेको भट्टराई पक्षको आरोप छ।
पछिल्लो समय भट्टराईले अमेरिकी सहयोग परियोजना एमसिसीको खुलेर समर्थन गरिरहेका छन् भने यादव यसबारे मौन देखिएका छन्।
आउँदो स्थानीय तहको निर्वाचन लागि उम्मेदवार बनाउन समेत यादवले एकलौटी गर्न खोजेको आरोप भट्टराई पक्षको छ।
भट्टराई पक्षले यसअघि नै पार्टीको कार्यकारिणी बैठक बोलाउन माग गरेको थियो। यादवले भने यसलाई आलटाल गर्दै आएका थिए। ३५ सदस्यीय कार्यकारीणीमा भट्टराईले बहमुत जुटाइसकेको बताइएको छ।