गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर पालिकाभित्र ७ उत्कृष्ट भएको छ।
गाउँपालिका भित्रका ९ वटा वडामध्ये उत्कृष्ट भएर पाँच लाख रुपैयाँ अनुदान प्राप्त भएको अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए।
गाउँपालिकाले योजना छनोट, सम्झौता, रकमान्तर, भुक्तानी, वडा कार्यालयबाट हुने सेवा प्रवाह स्वमूल्यांकन, राजश्व संकलन, बेरूजु अवस्थालाई आधार मानेर मापदण्ड तयार पारेको थियो।
‘हाम्रो वडा गाउँपालिकाभित्र उत्कृष्ट अङ्क ल्याएर पाँच लाख उत्कृष्ट वडा अनुदान प्राप्त गर्न सफल भएको छ,’ श्रेष्ठले भने, ‘चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्मको कार्यसम्पादनका आधारमा हाम्रो वडा उत्कृष्ट भएको हो।’
यो कार्यक्रमले वडाहरूलाई कार्यसम्पादन र सेवा प्रवाहमा हौसला प्रदान गरेको गाउँपालिकाको भनाइ छ।
वडा नम्बर ७ का अध्यक्ष श्रेष्ठले वडाबाट प्रदान हुने सेवा प्रवाह र वडाबासीलाई सामाजिक कार्यमा पनि सहयोग गर्दै आएका छन्।
उनको पहलमा बुंकोट कोटगाउँका धनबहादुर श्रेष्ठको घर बनाइएको थियो। घर निर्माणमा फेसबुकबाट अभियान गरी १४ लाख ८१ हजार रूपैयाँ रकम जुटेको थियो। थप दुई लाख वडाध्यक्ष श्रेष्ठले व्यवस्थापन गरेर कूल १६ लाख ८३ हजार रूपैयाँमा एक तले पक्की घर निर्माण भएको थियो।