बझाङमा मतगणनाका लागि सर्वदलीय बैठक बसेको छ।
आइतबार साढे ११ बजेदेखि सर्वदलीय बैठक बसिरहेको हो। बैठकको निर्णयानुसार मतगणना सुरू गरिनेछ।
बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले सबै राजनीतिक दल उम्मेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकका लागि बोलाएर बैठक बसिरहेको जानकारी दिए।
‘बैठकपछि सबै प्रक्रिया पुरा गरेर गणना सुरु गरिने छ,’ उनले भने।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२ बजेदेखि मतगणना गर्न सुरू हुनेछ।
‘अहिले हामी तयारी गरिरहेका छौं,’ मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भने, ‘सबै मतपेटिका संकलन भइसकेका छन्, बैठक सकेर १२ बजेदेखि तीन स्थानमा मत गणना हुनेछ।
बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा शनिबार भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत मत खसेको थियो। त्यहाँ ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका थिए।
यसअघि त्यहाँ नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह प्रदेश सभा सदस्यमा विजयी भएका थिए। मन्त्री बनेपछि गृह जिल्ला फर्किंने बेला उनको सवारी दुर्घटनामा परेर निधन भएको थियो। यहाँ विभिन्न दलका ११ जना उम्मेदवार छन्।