नेकपा एकीकृत समाजवादीका चार जना मन्त्रीले सोमबार पदभार सम्हालेका छन्।
सोमबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरेपछि नवनियुक्त मन्त्रीहरूले सिंहदरबारस्थित मन्त्रीहरूले पदाभार सम्हालेका हुन्।
पदभार सम्हाल्ने क्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले मन्त्रीहरू परिवर्तन हुने सामान्य प्रक्रिया भएको बताए।
आफू पनि पाँच महिनामात्रै रहने र त्यसपछि अर्कै आएर काम गर्ने हुँदा यो प्रक्रिया सामान्य भएको बताए।
‘पाँच महिनापछि छाड्नुपर्छ। त्यसपछि अर्को माननीय मन्त्री भएर आउनुहुन्छ। यसलाई म सामान्य प्रक्रियाको रूपमा लिन्छु,’ उनले भने।
आफूले जिम्मेवारी सम्हालिसकेपछि शून्यबाट नभएर अघिल्लो मन्त्रीले छाडेर गएकै ठाउँबाट सुरू गरी सम्पन्न गर्ने बताए।
‘हाम्रो सुरूआती काम शून्यबाट हुँदैन। जस्तै: राष्ट्रिय सहरी नीतिकै कुरामा पनि मलाई लाग्छ धेरै प्रक्रियाहरू धेरै सकिइसकेका छन्। ८० वा ८५ प्रतिशत काम सकेको छ भने त्यहाँबाट सुरू गर्छु र १०० प्रतिशत पुर्याउँछु,’ उनले भने,‘म पदमा रहँदा सम्म धेरै इमानदारिताका साथ। मेरो योग्यता, क्षमता, दृष्टिकोण अथवा मसँग जे छ यसको आधारमा अगाडि बढ्छु। यो कुर्सीको दुरूपयोग गर्नेबारे सोच्न पनि सक्दिनँ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पदभार सम्हाल्दै दुईटा निर्णय गरेका छन्।
उनले कोभिड-१९ को महामारीले पारेको असरबाट उकास्नको लागि भएका अध्ययनहरूबाट कार्यन्वयन गर्ने गरी अध्ययन गर्ने निर्णय गरे।
सात दिनभित्र अध्ययन गरी प्रतिवेदन समेत तयार पार्न भनिएको छ।
त्यस्तै, उनले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाका पदमार्गका बारेमा अध्ययन गर्ने पनि बताए। त्योसँगै बजेटमै परेको हुँदा हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्गको निर्माण काम पनि अगाडि बढाउने बताए।
‘दुइटा निर्णयमा सही गरेको छु। उपत्यकाको एउटा सांस्कृतिक महत्व छ। यसलाई सम्पदाहरूको ठाउँको रूपमा चिनिन्छ। त्यसैले यो ठाउँको महत्वलाई अझ झल्काउने गरी र पर्यटकहरूलाई अझ आकर्षित गर्ने गरी र बसोबास बढाउन सकिनेगरी सम्पदाहरू जोड्ने गरी ट्रेलहरू निर्माणको लागि अध्ययन गर्ने भन्ने निर्णय छ,’ उनले भने, ‘हनुमानढोकादेखि स्वयम्भूसम्मको ट्रेल बनाउने भनेर धेरै काम भइसकेको छ। त्यो कामलाई प्रारम्भ गर्ने।’