राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन समितिलाई पूर्णता दिएको छ।
बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको हो।
उक्त समितिमा पूर्वअध्यक्षहरू लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, कार्यसम्पादन समिति सदस्य, पदाधिकारी, सातै प्रदेशका अध्यक्ष, केन्द्रीय सदस्य, विभागीय प्रमुखहरू, भ्रातृ संगठनका प्रमुखहरू पनि छन्।
निर्वाचन परिचालनको सदस्य सचिव भने महामन्त्री राजेन्द्र गुरूङ छन्।
प्रदेशका अध्यक्षहरूको संयोजकत्वमा प्रदेश निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ भने उक्त समितिमा सम्बन्धित जिल्ला अध्यक्ष रहने व्यवस्था छ।
कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक समिति र प्रवक्ता मोहन श्रेष्ठको संयोजकत्वमा केन्द्रीय प्रचार समिति गठन गरिएको छ।
बैठकमा मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार चयन गर्नेबारे पनि कुराकानी भएको थियो। छिटो उम्मेदवारका लागि सुझाव पेश गर्न पनि बैठकले आग्रह गरेको छ।
बैठकले समान विचार भएकालाई एकता र सहकार्यलाई आह्वान पनि गरेको छ।
राप्रपाले जिल्लासँग समन्वय गरी प्रत्यक्षतर्फ उम्मेदवार छिट्टै तय गर्ने तयारी पनि गरेको छ। राप्रपाले नेकपा एमालेसँग चुनावी तालमेल गर्न सकिनेबारे पनि छलफल गरेको छ।
केही समयअघि राप्रपा अध्यक्ष लिङ्देनले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल पनि गरेका थिए।