प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूकम्प प्रभावित डोटीलगायतमा उद्धार तथा राहतका काममा खटिन निर्देशन दिएका छन्।
प्रधानमन्त्री देउवाले घाइतेको उपचारको व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।
गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्र भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो।
प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’, प्रधानमन्त्री देउवाले ट्वीट गर्दै भनेका छन्।
डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ। ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको हो।
६ जना घाइते छन्। घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ।
यहाँ ८ वटा घर पूर्ण रूपमा भत्केको छ। भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका छन्।